१७ मंसीर

काठमाडौं – वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ ।

श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गरिए को कार्यालयले जनाएको छ ।टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिनेछ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको छ ।

एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली अन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकैद्वारबाट पाउने वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले बताउनुभयो ।

तोकेको मिति र समयमा सेवाग्राही सेवाका लागि आएमा घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने उहाँको दावी छ । यस्तो सेवाका लागि सेवाग्राही आफंैले फाराम भर्न सक्नेछन् ।सरकारले गएको असोज १५ देखि एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीबाट से वा दिने तयारी गरेको भए पनि ताहाचलबाट भने अझैसम्म यस्तो सेवा सुरु हुन सकेको थिएन ।

यसैगरी, कार्यालयबाहिर रहेका बिमा कम्पनीमार्फत पनि सेवा लिन सकिनेछ । सेवाग्राहीले फाराम स्क्यानिङ गरेर आफ्नो युजर र आईडीबाट अनलाइन प्रणालीमा अपलो ड गर्नुपर्नेछ । वैदेशिक रोजगार कार्यालयले एक दिनमा ९ सयदेखि ९५० जनासम्मलाई सजिलै यस सेवा दिन सक्ने जनाएको छ ।सरकारको यस्तो नयाँ व्यवस्थाले अब सेवाग्राहीलाई सानो कामका लागि पनि दिनभर लामो लाइनमा बस्ने झन्झटबाट मुक्त गर्ने विश्वास गरिएको छ । यति मात्र नभई बिचौलिया र कर्मचारीको मिलेमतोमा हुने कामदार ठगीलगायत सबै समस्या स्वतः निवारण हुने कार्यालयले दावी गरेको छ ।