११ मंसीर
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले साहित्य\सृजना कुनै देशको नभई संसारको साझा हुने बताउनुभयो । रसियन कवि रसूल गा. गाम्जानोमको ९५ औं वार्षिकीको अवसरमा भक्तपुरको नगकोटमा स्थापित सालिकको अनावरण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालको जस्तै वातावरण र सांस्कृतिक विविधता भएको रुसको दागेस्तान प्रान्तमा जन्मिएका गाम्जानोमले धेरैपटक नेपालको भ्रमण गरी दुई देशको संस्कृतिलाई जोडेर दुईओटा कविता संग्रह प्रकाशन गरेका थिए । सोही सम्झनामा उनको परिवारसँगको साझेदारीमा रसियन दूतावास, रुसी विज्ञान तथा सांस्कृति केन्द्र र रुस नेपाल सहयोग तथा मैत्री समाजले नगरकोटमा गाम्जानोमको सालिक निमार्ण गरेका हुन् ।
सो अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले रसियामा जन्मिए पनि गाम्जानोमले नेपालको संस्कृति बारे कृति प्रकाशन गरेकाले उनी नेपालको पनि कवि भएको बताउनुभयो । दुई देशको संस्कृतिलाई कृतिमार्फत आदान˗प्रदान गर्नुले सरकार र जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउन सघाउ पु¥याउने धारणा उहाँले व्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाल र रसिया बीचको सन् १९५६ देखिको कुटनीतिक सम्बन्धले विकास निमार्ण, शिक्षा, संस्कृति आदान˗प्रदानमा सहयोग पुगेको बताउनुभयो । ‘रसियामा धेरै नेपाली सोभियत संघ हुँदादेखि प्राविधिक विषय अध्ययनका शिलसिलामा पुगेका छन् । जसले नेपाल फर्केर पूर्वाधार निमार्णमा ठूलो योगदान पु¥याएका छन् भने रसियामै ठूला˗ठूला व्यवसाय सञ्चालन गरेका छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरु नेपालका स्थायी दूत हुन् । उनीहरु मार्फत नेपालमा रुसी पर्यटक र लगानीमा बृद्धि गर्नुपर्छ ।’
त्यसैगरी उहाँले दुई देशबीच राजनीतिक, व्यापारिक तथा सांस्कृतिक गतिविधि बढ्दा पर्यटकको संख्या पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपालले पर्यटनलाई देशको समृद्धिको मुख्य आधार बनाउन लागिरहँदा नेपाल जस्तै हिमाली प्रान्त जागेस्तानसँग नेपालको कुनै प्रदेशले मितेरी सम्बन्ध कायम गर्नुपर्ने बताउनुभयो । ‘नेपालको पर्यटकीय प्रदेशका रुपमा गण्डकी प्रदेशलाई चिनिन्छ । जागेस्तान र गण्डकी प्रदेशबीच मितेरी सम्बन्ध कायम गर्दा राम्रो हुन्छ,’ उहाँले भन्नुभयो ।
साथै नेपाल र रुसमा दुई सदनको व्यवस्था भएकाले संसदीय गतिविधि र अनुभव आदानप्रदान आवश्यक रहेको अध्यक्ष तिमिल्सिनाले धारणा व्यक्त गर्नुभयो ।