७ मंसीर

पर्बत,पर्वतको कुश्मा नगरपालिका २ अर्मादीमा यहाँका यूवाहरुले माछापालन व्यवसाय शुरु गर्न थालेका छन् । जिल्लाका अगुवा कृषक लालबहादुर हरिजन र दुर्गा पौडेलले २ करोडको लगानीमा माछापालन व्यवसाय शुरु गर्न लाग्नुभएको हो । दुई जना कृषकहरु मिलेर माछापालन गर्ने गरि जग्गा सम्माउन थालिएको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले फर्मको  एक कार्यक्रमका बिच शिलन्यास गर्नुभयो । जोशीले यूवाहरुको उत्साह अव कृषि कर्म तर्फ केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले कृषिमा प्रचुर संभावना रहेकाले यसतर्फ लगानी बढाउन सके मात्रै यूवा समृद्ध बन्न सक्ने कुरामा जोड दिनुभयो । कुश्मा २ का वडाध्यक्ष यदुनाथ वास्तोलाले यो फर्मका कारण अन्य यूवाहरुलाई पनि कृषि कर्मतर्फ उन्मुख बनाउन प्रेरणा प्राप्त हुने बताउनुभयो ।

यो फर्म अत्याधुनिक किसिमको हुने लगानीकर्ताहरुले जनाएका छन् । फर्म पूर्ण रुपमा सञ्चालन हुन ४ महिना लाग्ने जनाइएको छ । यो फर्ममा माहुर, ग्रासकार्प, कमन र नैनी जातका माछापालन गर्ने योजना रहेको लगानीकर्ता मध्येका दुर्गा पौडेलले जानकारी दिनुभयो । २३ रोपनी जग्गा भाडामा लिएर अहिले सम्माउन थालिएको छ । शुरुमा ६० हजार र १५ वर्ष पछि १ लाख रुपैयाँ दिने गरि जग्गा भाडामा लिइएको हो । त्यस्तै फर्म विस्तारका लागि नयाँपुल भन्दा पारी कालाखोलामा पनि जग्गा भाडामा लिईसकेको पौडेलले जानकारी दिनुभयो । माछापालन संगै कुखुरा र तरकारी पनि संगसंगै गर्ने योजना रहेको छ । यो फर्ममा पच्चिस हजार कुखुरापालन गर्ने योजना रहेको लगानीकर्ता लालवहादुर हरिजनले जानकारी दिनुभयो ।

यो फर्ममा १० जना यूवाहरुले प्रत्यक्ष र २० जनाले अप्रत्यक्ष रोजगारी पाउने छन् । तरकारी, माछा र कुखुराजन्य बस्तु विक्रीका लागि बेनीमा ४ वटा र वागलुङमा ४ वटा विक्री केन्द्र सञ्चालन गरिने हरिजनले बताउनुभयो । कुश्मामा आफ्नै विक्री केन्द्र भएकाले यहाँ समस्या छैन । यसअघि पनि हरिजनले नमूना कृषि फर्ममा ९० प्रतिशत लगानी गर्नुभएको छ । उहाँ राजनीतिज्ञ समेत हुनुहुन्छ । नेताहरु नारामा मात्रै सिमित भएको बेला हरिजनले भने कर्म गरेर उदाहरणिय बन्न सकिन्छ भन्ने मान्यता राख्ने गरेको बताउनुभयो । जिव्रो बोल्ने हैन जीवन बोल्नुपर्छ भन्ने मान्यता राख्ने बताउँदै हरिजनले पर्वतमा कृषिमा ठुलो क्रान्ती देखाउने सोच रहेको बताउनुभयो ।