६ कार्तिक
काठमाडौं– प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि र पद्धतिअनुसार अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले आगामी दिनमा पार्टीका कुनै पनि निर्णय गर्दा विधि र पद्धति अनुसार गरिने प्रतिबद्धता जनाएका हुन्।
वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पद्धति र प्रक्रियाबाट नेतृत्व नचलेको, निर्णयहरु पार्टीको विधि र विधान अनुसार नभएको भन्दै असन्तुष्टिको पत्र नै सचिवालयमा दर्ता गरेपछि अध्यक्ष ओली दबावमा परेका थिए। असोजको पहिलो साता बसेको सचिवालय बैठकले प्रदेशका संयोजक तोकेपछि सोही निर्णयप्रति नेता नेपालले असन्तुष्टि जनाउँदै लिखित असहमति पेस गरेका थिए।
सचिवालय बैठकको निर्णयप्रति असहमति जनाउँदै नेता नेपालले राखेको पत्रमाथिको गम्भीर छलफलपछि अध्यक्षले विधि र पद्धतिलाई आगामी दिनमा पालना गरिने प्रतिबद्धता जनाएका हुन्।
नेता नेपालको असन्तुष्टिको पत्रमाथि बोल्दै अन्य सदस्यहरुले पनि पार्टीको विधि तथा पद्धति लगायतका विषयलाई आत्मसाथ गर्न नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएपछि आगामी दिनमा विधि र पद्धति अनुसार नै चल्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। साथै बैठकले श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजीनामा पनि अस्वीकार गरेको छ।
प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको एकीकरण लगायतका विषयमा एजेण्डा निश्चित भइसकेकाले त्यस बारेको निर्णय आगामी बैठकमा गरिने भएको छ।
सचिवालयको अर्को बैठक कात्तिक ७ गते अपरान्ह ३ बजेका लागि बोलाइएको छ।








