कात्र्तिक ५, २०७५
पर्वत : एक बर्ष अगाडि निर्माणकार्य शुरु भएपनि ठेकेदार कम्पनीले निर्माणकार्य बन्द गरेपछि अलपत्र परेको पर्वतको फलेवास नगरपालिकाको देविस्थान–कुर्घा जोड्ने लमायखोला मोटरेवलपुलको सांसद पदम गिरीले अवलोकन गर्नुभएको छ ।
स्थानीयबासीले निर्माणकार्य अलपत्र परेको भन्दै गुनासो गरेपछि स्थानीयबासी र स्थानीय जनप्रतिनिधिसंगै सांसद गिरीले पुलनिर्माण स्थलको अवलोकन गर्नुभएको हो । पुलनिर्माण स्थल लमायखोलामा पुग्नुभएका सांसद गिरीसंग स्थानीयले पुल अलपत्र परेको भन्दै आक्रोस ब्यक्त गरेका थिए । संघिय सरकारले निर्माण गरीरहेको कालीगण्डकी करिडोर अन्तर्गतको पर्वत खण्डमा पर्ने सडकमा उक्त मोटरेवल पुलको निर्माणकार्य अगाडि बढेको हो । पुल निर्माण कार्यको प्रारम्भिक चरण मै निर्माण कम्पनीले काम छाडेपछि विगत १ बर्ष देखि पुल अलपत्र अवस्थामा छ ।
पुल अलपत्र परेको भन्दै स्थानीयबासीले प्रतिनिधि सभाका सांसद गिरीलाई पुल निर्माणकार्य अगाडि बढाउन माग गरेका हुन । पुल निर्माण स्थलमा पुग्नुभएका सांसद गिरीले सम्बन्धित निकायलाई तत्काल यस विषयमा ध्यानाकर्षण गराउने भन्दै आगामी मंसीर महिनाबाट निर्माणकार्य अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सांसद गिरीले विकास आयोजनाका कुनै पनि कामहरुमा हेलचक्राई नगरी काम गर्न निर्माण कम्पनीहरुलाई सरकारले पटक पटक निर्देशन दिएको दोहेराउँदै पुल निर्माणका लागि आवश्यक पर्ने सवै प्रकारको समन्वय गरेर निर्माणकार्य अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । जिल्लाको दक्षिणी क्षेत्रसंग प्रत्यक्ष जोड्नको लागि छोटो दुरीको सडक खण्डमा उक्त पुल पर्दछ । पुल र सडक निर्माण हुँदा दक्षिण पर्वतको विहादी, पैयू र महाशिलाको यात्राथप सहजहुने स्थानीयको विश्वास छ ।
पुलनिर्माण स्थलमा पुग्नुभएका फलेवास नगरपालिकावडा न ६ का वडाअध्यक्ष भोलानाथ भुषालले पुल निर्माण अवरुद्ध हुँदा पुल नै नबन्ने हो कीभन्ने चिन्ता लागेको बताउनुभयो । झण्डै ५ करोड १३ लाखको अनुमानित लागतमा पुल निर्माण हुने मोटरेवलपुल २५ मिटर लामो र ११ मिटर चौडाईको रहेको छ । नयाँ बाटो गौचन जेभि कास्कीले मोटरेवल पुलको काम गर्ने जिम्मा लिएपनि हालसम्म फाउन्डेसनको कामपनि शुरु गरेको छैन । २०७६ सालअसार सम्ममा सम्पन्न गरिसक्नु पर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेपनि पुलको निर्माणकार्य शुरु नहुँदा तोकिएको समयमा पुरा नहुने देखिएको हो ।








