२६ असोज
काठमाडौं । चतर्फी आलोचनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने भएका छन् । पार्टी सांसदलाई राजीनामा गराएर आफू उपचुनाव लड्ने योजनाको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेका हुन् ।
गौतमलाई सांसद बनाउन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पद छाड्न तयार रहेको पत्र सचिवालयमा बुझाएका थिए ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका बहसंख्यक नेता गौतमलाई चुनाव लडाउने पक्षमा देखिएनन् ।
चौतर्फी आलोचनापछि पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले बुधबार साँझ सचिवालयका नेताहरुसँग परामर्श गरे । उनले प्रधानमन्त्री एवं अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग छुट्टाछुट्टै सम्वाद गरेका थिए ।
नेतृत्वबाट सकारात्मक प्रतिक्रिया नपाएपछि गौतम चुनाव नलड्ने निर्णयमा पुगेका छन् । नेकपाको उच्च स्रोतले भन्यो, ‘पार्टी भित्रबाटै असहयोग हुने र चुनाव हारिने देखेपछि गौतम स्वयंमले काठमाडौं ७ बाट चुनाव लडि्दन भन्नु भएको छ ।’
नेकपाका महासचिव विष्णु पौडेलले पनि गौतम काठमाडौं ७ बाट उम्मेदवार हुन नहुने बताएका छन् । गौतम काठमाडौं ७ मा मात्र चुनाव नलड्ने हो वा उपचुनावबाटै नआउने हो प्रष्ट भएको छैन ।









