२२ असोज
काठमाडौं– गुन्डा नाइके समीरमान बस्नेतको रिहाइ गर्न माग गर्दै दायर भएको बन्दीप्रत्यक्षिकरण मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ।
न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलाशले बन्दीप्रत्यक्षिकरणको रिट खारेज हुने निर्णय गरेको हो। सर्वोच्चको उक्त आदेशपछि बस्नेत थुनामै रहने भएका छन्।
यसअघि ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ कारागार पठाइएका गुन्डा नाइके बस्नेतलाई बन्दीप्रत्यक्षिकरण मुद्दाका लागि सर्वोच्च अदालत ल्याउन आदेश दिइएको थियो। अदालतको आदेशपछि मुस्ताङबाट सर्वोच्च झिकाइएका बस्नेतको बन्दीप्रत्यक्षिकरणको रिट खारेज भएको हो।
बस्नेतलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सुधीरमानसिंह बस्नेतले बन्दीप्रत्यक्षिकरणको रिट दायर गरेका थिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले समीरमानलाई भारतबाट पक्राउ गरेर मंसिर १७ गते सार्वजनिक गरेको थियो।
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको थियो। उनी यसभन्दा अघि पनि गुन्डागर्दी गरेको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका थिए।
गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो।









