४ असोज
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब दुई महिना पुग्दैछ । तर, अझै दोषी पत्ता लाग्ने छनकसम्म देखिएको छैन ।
यसो हुनुको प्रमुख कारण तत्कालिन कञ्चनपुर प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्ली विष्टको भूमिका नै प्रमुख भएको प्रहरीको भनाइ छ । विष्टले अपराधीसम्म पुग्नुको साटो प्रमाण नष्ट गर्ने कार्यमा सक्रिय भूमिका खेलेको बालिकाकै आमा बुबाको आरोप छ । यहीँ कारण कञ्चनपुरमा आन्दोलन भयो । एक जना बालक सनी खुना प्रहरीको गोली लागेर मारिए ।
पीडितका आमाबुबा न्याय माग्दै सिंहदरबारसम्म पुग्नु र्पयो। भलै प्रहरी प्रधान कार्यलयले बलात्कार र हत्याकाण्डमा लापरबाही गरेको भन्दै एसपी डिल्लीराज विष्टसहित केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदिश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्स्पेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका प्रहरी नायव निरीक्षक (सई) रामसिंह धामी निलम्बनमा परिसकेका छन् ।
निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाउने प्रहरीसँग खास प्रमाण नै छैन । हत्यासँग सम्बन्धित प्रमाण सयम र अन्य कारणले नष्ट भइसकेका छन् । तर, प्रहरीसँग एउटै प्रमाण छ, निर्मालाको यौनांगको भित्री भागमा भेटिएको पुरुषको शुक्रकिट । प्रहरीले यही प्रमाणबाट अपराधीसम्म पुग्ने प्रयास गरिरहेको छ ।
उक्त प्रमाणसंँग डिएनए परीक्षणमा मेल नखाए पछि दिलिपसिंह विष्ट छुटेका हुन् । अहिले छानबिन समितिले निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको समेत त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा डीएनए परीक्षणका लागि रगत दिएको जनाएको छ ।
यसको नतिजा केही दिनमा आउनेछ । सिआइबी स्रोतका अनुसार निर्मलाको यौनांगमा भेटिएको शुक्रकिट एक जनाको मात्रै रहेको जनाएको छ । नतिजा डिएनए परीक्षण गरेकाहरूको पक्षमा आए अर्थात् निर्दोष देखिए अनुसन्धानको पाटो अझ जटिल बन्दै जाने गृह मन्त्रालयको निष्कर्ष छ । यसको लागि अन्य प्रकृयाबाट समेत अनुसन्धान थालिसकेको गृहमन्त्रालयको भनाइ छ ।
निर्मलाको शव भेटिएको ठाउँ नजिकका परिवार र तीन किलोमिटर टाढा रहेको सेनामाथि समेत अनुसन्धान शुरु भइसकेको प्रहरी स्रोतको भनाइ छ । प्रहरी स्रोतका अनुसार अहिले अनुसन्धान फेरी शून्यबाट शुरु गरिएको छ । कञ्चनपुर भीमदत्तनगरपालिका २ महुलीयाकी निर्मला गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी थिइन् । उनी त्यसको दोस्रो दिन अर्थात् साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।









