३ असोज
काठमाडौं- मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म ६ पुगेको छ। विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन्। उनीहरु मलेसियाको सेलेङगर सहरमा रोजगारीका क्रममा थिए। उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए।
सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा ५ जनाको मृत्यु भएको हो। सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका ९ नेपालीको उपचार भइरहेको छ। त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ। उक्त अस्पतालमा गम्भीर बिरामी ५ जनाको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए।
व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एकएक जनाको उपचार भइरहेको छ।
मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा सिकिस्त भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए। नेपालीको अवस्था बुझ्न उनी अस्पताल पुगेका थिए।









