संजय रेग्मी
अशोज २, २०७५
पर्वत ः लौह पुरुषका नामले चिनिनु हुनुहुने २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको स्मृति दिवसमा आज पर्वतमा पनि बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन । नेपाली कांग्रेस पर्वतको आयोजनामा स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पण गरेर सिंहको योगदानको स्मरण गरिएको छ । यसैगरी, गणेशमान सिंहकै सम्झनामा पवित्र तिर्थस्थल मोदीवेणी धाममा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल विदार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस, नेपाल दलित संघ पर्वत, नेपाल विद्यार्थी संघ नारायण माध्यमिक विद्यालय र नेपाल तरुण दल फलेवासको संयुक्त आयोजनामा बडागाउँमा रहेको बडागाउँदेखि सिर्सुवा जोड्ने झोलुङगे पुलको आसपासको क्षेत्रसहित पैदल यात्रीको बाटो हुँदै दिब्यधाम सम्मको क्षेत्रमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा आयोजना नेपाली काँग्रेस पर्वतका सदस्य सहित भातृ तथा शेभुच्छुक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । सर्वमान्य नेताका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गर्नुभएको थियो । २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गर्नुभएका सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाउनुभएको थियो । राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव, २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कूसम्म उहा विपीसँगै रहनुभएको थियो । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो ।









