१ असोज
पर्वत । जिल्लाको ग्रामीण क्षेत्रमा रहेको ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक एक्सरे सेवा सुचारु भएपछि स्थानीयवासीहरुलाई राहत भएको छ । नेपाल सरकार स्वास्थ मन्त्रालयमार्फत उपलब्ध भएको एक्सरे मेशिनलाई आवश्यक पर्ने थप सामाग्री र भवन व्यवस्थापनमा कुस्मा नगरपालिकाले सहयोग गरेपछि एक्सरे सेवा संचालनमा आएकाे हाे । एक्सरे सेवा संचालनमा अाएपिछ ठूलीपाेखरी र साे अासपासका सर्वसाधारणलाई राहत भएको हो ।

एक्सरे सेवाको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले स्थानीय युगनाथ पौडेलको एक्सरे खिचेर शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख जोशीले आफ्ना नगरबासीहरुलाई आधरभूत सेवा दिन नगरपालिकाले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नगरको समग्र विकासका लागि आँफूले सक्दो प्रयास गरेको भएपनि टुक्रे योजनाका कारण आफ्नो सोच सफल हुन नसकेको बताउँदै विकास निर्माणका कार्यमा दिर्घकालिन सोचका साथ अगाडी बढ्न नगरकार्यपालिका सदस्यहरुलाई समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै कुस्मा नगरपालिकाका उप प्रमुख सिता काफ्ले लामिछानेले स्वास्थ सेवा आम जनताको पहिलो प्राथमिकता भएकाले नगरपालिकाले पनि पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको चाहना अनुरुप काम गर्न आँफूहरु तयार रहेको बताउँदै नगरलाई समृद्ध बनाउन सबैको सकारात्मक सहयोग चाहिने धारणा व्यक्त गर्नुभयो ।

स्वास्थ्य सेवा विभागबाट एक्सरे मेशिन प्राप्त भएपनि प्राथमिक स्वास्थ्य केन्द्रसँग कुनै स्रोत नहुदा एक्सरे सेवा संचालनमा ल्याउन समस्या भएको थियो । नगरपालिकाले ५ लाख सहयोग गरेसँगै एक्सरेका लागि आवश्यक सामाग्री खरिद गर्न, फर्निचर व्यवस्थापन गर्न तथा कोठा मर्मत गर्न सहज भएसँगै सेवा सुरुवात भएको हो ।

एक्सरे सेवा संचालनमा आएसँगै कुस्मा नगरपालिकाका पिपलटारी, पकुवा, खौला, आर्थर साथै फलेवास नगरपालिकाको कार्कीनेटाका बिरामीलाई सहज हुने भएको छ । कुश्मा १२ ठूलीपोखरीको वडाले समेत स्वास्थ केन्द्रका लागि आवश्यक पर्ने काममा सहयोग गर्दै आएको छ । वडा अध्यक्ष राजेन्द्र पौडेलका अनुसार अस्पतालको व्यवस्थापन, मर्मत तथा एम्बुलेन्स संचालनमा समेत वडाले सक्दो सहयोग गर्दै आएको बताउनुभयो । एक्सरे सेवा संचालनमा अएपनि रेडियोलोजिष्ट नहुँदा सामान्य तालिमको भरमा सेवा सूचारु गरिएको केन्द्रले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कुश्मा नगरपालिका ११ का वडा अध्यक्ष शिब प्रसाद पौडेल, नेकपा जिल्ला सदस्य ढाकाराम गौतम, नेपाली काँग्रेसका जिल्ला सदस्य हेमराज सापकोटा लगायतले आफ्नो धारणा राखेका थिए । कुस्मा नगरपालिका १२का अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर बिबेक भण्डारी र संचालन शिक्षक आनन्द रिमालले गर्नुभएको थियो ।