२४ भदौ
काठमाडौं,१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धानमा प्रहरीबाटै त्रुटि भएको उच्चस्तरीय छानबिन समितिले निष्कर्ष निकालेको छ ।
आज महेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत् समितिका संयोजक हरिप्रसाद मैनालीले हत्या प्रकरणमा प्रहरीबाटै त्रुटि भएको बताउनुभयो ।
उहाँले जनताले आन्दोलनमा होमिनुपर्ने अवस्था त्यसै नआएको भन्दै प्रहरीबाट घटनाको अनुसन्धानमा त्रुटिहरु भएको उल्लेख गर्नुभयो ।

अनुसन्धानकाक्रममा थुप्रै तथ्यहरु फेलापारेको बताउँदै अरु प्रहरी अधिकृत र अनुसन्धानमा खटिएको टिमसँग पनि सोधपुछ गरेर आवश्यक परे कारबाहीका लागि सिफारिस गर्न सकिने उहाँको भनाइ छ ।
निर्मलाको हत्या प्रकरणमा प्रहरीबाटै लापरबाही भएको छानबिन समितिका सदस्य तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) रामप्रसाद श्रेष्ठले बताउनुभयो ।नेपाली रेडियो नेटर्वक अनलाईनमा समाचार उल्लेख रहेको छ ।
पीडित परिवारले जानकारी गराउनेबित्तिकै प्रहरीले अनुसन्धान गरेको भए अपराधी पत्ता लगाउन समस्या नहुने श्रेष्ठको भनाइ छ ।

कन्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीका १३ वर्षीया बालिका निर्मलाको गत साउन १० गते हत्या गरिएको थियो ।
हत्या गरेर शव उखुबारीमा फालिएको अवस्थामा ११ गते भेटिएको थियो । पछि बलात्कारपछि हत्या गरिएको पुष्टि भएको थियो ।