२० भदौ
काठमाडौं । २० दिनअघि काठमाडौंको मिलनचोक बानेश्वरबाट हराएकी १५ वर्षीय निक्की पराजुली वीरगञ्जमा फेला परेकी छिन् ।
भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा पढिरहेकी निक्की हराएपछि उनको परिवारले प्रहरी समक्ष खोजिदिन आग्रह गरेका थिए । खोजतलास गर्ने क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय, वीरगञ्जले उनलाई फेला पारेको हो ।
फेला पारेपछि प्रहरीले उनलाई काठमाडौंसम्म ल्याएर परिवारको जिम्मा लगाएका थिए ।
यसअघि पनि पटक–पटक हराउने गरेकी पराजुली साथीसँग मिलेर विरगञ्ज गएको बताएकी छन् । उनी हराएको बारेमा प्रहरीले सोधपुछ गर्दा उनी विरगञ्जको एक होस्टलमा बसेको बताइन् ।
निक्की गत साउन २८ गते सोमबार बेलुकी साढे ७ बजेतिरबाट सम्पर्कविहिन भएकी थिइन् ।









