१७ भदौ
काठमाडौं । अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर देशभरिका चिकित्सकहरु आइतबार सडकमा उत्रिएका छन् । नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै उनीहरु सडकमा आएका हुन् ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरुले नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार राजधानी काठमाडौंसहित देशभर प्रदर्शन गरेका हुन् ।
काठमाडौंको माइतीघरबाट सुरु भएको चिकित्सकहरुको जुलुस नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई डा. गोविन्द केसी, डा.हरिहर वस्ती, डा.केदारनरसिंह केसी, मुक्तिराम श्रेष्ठ, लगायतले चिकित्सकको मनोवल गिराउने खालको व्यवस्था सच्याउन आग्रह गरे ।

सरकारले निजी मेडिकल संस्था बन्द गराउने मनसायले नयाँ मुलुकी ऐनमा कडा व्यवस्था गरेको सुनील शर्मा लगायतका वक्ताहरुले बताए ।
बिरामीको उपचार गर्दा लापरवाही गर्ने चिकित्सकलाई जेल हाल्ने मुलुकी अपराध संहिताको प्रावधानविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । तर, उपचारमा संलग्न डाक्टरले भुल गरेको हो वा होइन भन्ने विषयमा अध्ययन गर्न लागि छुट्टै समिति गठनको चिकित्सकहरुले माग गरेका छन् ।

‘चिकित्सकको लापरवाही र हेलचेक्र्याइँ हो वा होइन भन्ने अध्ययनका लागि छुट्टै विशेषज्ञसहितको टोली हुनुपर्छ’ कोणसभाका वक्ता डा. हरिहर वस्तीले भने, ‘म चुनौतीका साथ भन्छु, चिकित्सकको भुल प्रहरीले कुनै हालतमा पत्ता लगाउन सक्दैन । त्यसकारण त्यो संयन्त्रमा मेडिकल बुझेको मान्छे हुनुपर्छ ।
आफुहरु कुनै राजनीतिक आस्थाका आधारमा नभई स्वास्थ्यकर्मीको विरुद्धमा रहेको मुलुकी अपराध संहिताका कारण आम जनतालाई पर्ने असरबारे आवाज बुलन्द गर्न आन्दोलनमा उत्रनु परेको चिकित्सकहरुले बताए ।
नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म चिकित्सकहरुले मुलुकी संहिताको विरोधमा र्‍याली निकाले । र्‍यालीपछि बानेश्वरमा आयोजित कोणसभामा डा. गोविन्द केसीसमेत सम्वोधन गरे ।
मन्तव्यका क्रममा डा. केसीले मुलुकी अपराध संहितालाई बिरामीमारा कालो कानूनको संज्ञा दिँदै फिर्ता लिनुपर्ने सुझाए । उनले भने- ‘चिकित्सक र स्वास्थ्यकर्मी जवाफदेही हुनुहुँदैन भन्ने होइन, तर अहिलेको कानून बिरामीमारा छ, यो फिर्ता हुनुपर्छ ।’

नयाँ व्यवस्थाले डाक्टरलाई हतोत्साहित बनाएको र त्यसले बिरामीलाई रिफर गर्न मात्रै डाक्टरलाई प्रेरित गर्ने भएकाले यसबाट गरिव जनता नै मारमा पर्ने डा. केसीको भनाइ छ ।

‘अब डाक्टरहरुले जोखिम मोल्न खोज्दैनन् । हेल्थपोष्टले जिल्ला अस्पताल हुँदै शहरका ठूला-ठूला अस्पतालमा रिफर गर्ने अवस्था सिर्जना हुन्छ । ठूला अस्पतालले पनि अलि जोखिम लिनुपर्ने अवस्था देख्नेवित्तिकै भारतको दिल्ली वा अन्य देशमा रिफर गर्न थाल्दछन’, डा.केसीले भने,’ यो अवस्थामा पैसा हुनेले मात्रै उपचार गर्न सक्ने अवस्था हुन्छ । नेता विदेश नै गइरहेका छन् । अब पनि जान्छन् । मारमा पर्ने भनेको गरिव जनता नै हो । त्यसकारण यो कालो कानून फिर्ता हुनुपर्छ ।’

उपचार मन नपरेको अवस्थामा अहिले पनि मुद्दा गर्न सक्ने र दोषी ठहरिए कारबाही गर्ने व्यवस्था पहिले पनि भएको र अहिले पनि रहेको भन्दै डाक्टर केसीले उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको अवस्थामा ज्यानमाराको अभियोग लगाइनु उचित नभएको बताए । डाक्टरलाई तर्साएर गुणस्तिरीय सेवा उपलब्ध हुन नसक्ने बरु डाक्टरले उपचारका लागि अन्य अस्पतालमा रिफर गर्दा गर्दै बिरामीको मृत्यु हुनसक्ने भएकाले सरकारले त्यसतर्फ सोच्नुपर्ने उनले बताए । ‘रिफर टु रिफर भइरहँदा बिरामीको एम्बुलेन्समै मृत्यु भयो भने को जिम्मेवार ? केसीले प्रश्न गरे, उपचार गर्दै गर्दै मृत्यु भएको अवस्थामा पनि उपचारमा संलग्न डाक्टर दोषी कि अस्पताल ?