१६ भदौ
काठमाडौं । नारायणहिटी दरबारमा रहेको श्रीपेच सार्वजनिक गरिने भएको छ । नारायणीहिटी दरबारको सैलुन कक्षमा रहेको श्रीपेच सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गर्न लागिएको हो ।
२०६२/६३ को जनआन्दोलनसँगै राजतन्त्र अन्त्य भयो । अन्तिम राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेपछि त्यसलाई संग्राहालय बनाइएको छ तर, अहिलेसम्म श्रीपेच सार्वजनिक गरिएको थिएन ।
श्रीपेच देखाउन (सोकेस) का लागि पुरातत्व विभागले आहृवान गरेको बोलपत्र फाल्कन आइज एक्सपोर्ट इमपोट प्रालिले ठेपाएको छ । विभागले नारायणी दरबार संग्राहालयमा श्रीपेच प्रदर्शनीको लागि सुरक्षा प्रणाली र मर्मत तथा सम्भार गर्न बोलपत्र आहृवान गरेको थियो ।
नारायणीहिटी दरवार संग्राहालयका प्रवक्ता अजयप्रकाश श्रेष्ठका अनुसार कार्तिक मसान्तभित्रै श्रीपेच हेर्न मिल्ने गरी काम भइरहेको छ । श्रीपेचको प्रदर्शनी कक्ष निर्माणका लागि २८ लाख खर्च लाग्ने विभाग स्रोतले जानकारी दियो । यसको सम्पूर्ण खर्च पुरातत्व विभागले नै व्यहोर्नेछ ।
संग्राहालय प्रवेश शुल्क तिरेपछि श्रीपेच अवलोकनका लागि थप शुल्क तिर्नु नपर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
नारायणीहिटी संग्राहालयको प्रवेश शुल्क नेपालीका लागि रु १००, सार्क राष्ट्रका नागरिकका लागि रु २५० र वाहृय देशका नागरिकका लागि ५०० रुपैयाँ छ । विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संग्राहालय खुला रहनेछ ।
श्रीपेचमा ७ सय ५० वटा हिराका टुक्रा जडित छन् । श्रीपेचको पछाडि झुण्डिने आकर्षक कल्की दुर्लभ मानिने ल्याटीन अमेरिकी चरा बर्ड अफ प्याराडाइजको पुच्छरबाट बनेको हुन्छ ।









