१६ भदौ
पर्वत । असोजको पहिलो साता पर्वतको कुस्माबजारमा हुने नेपाल जेसिजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी तीब्र पारिएको छ ।

पर्वत जेसिजको आतिथ्यतामा आगामी असोज ५ र ६ गते कुस्माबजारमा हुने क्षेत्र ‘ख’ सम्मेलनको बिभिन्न तयारीका काम आयोजकले तीब्र बनाएका हुन । सम्मेलनको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपाल जेसिजको क्षेत्र ख सम्मेलन राष्ट्रियसभाका अध्यक्ष तिमिल्सीनाले गर्ने कुरा तय भैसकेको नेपाल जेसिजका पुर्व उपाध्यक्ष तथा सम्मेलन निर्देशक बसन्तकुमार कर्माचार्यले जानकारी दिए । सम्मेलनको तयारीका लागि सदस्य शाखाको भ्रमण गर्ने तथा निमन्त्रणना दिने काम अन्तिम चरणमा पुगेको निर्देशक कर्माचार्यले बताए । कलैया जेसिजबाट शुरु भएको निमन्त्रणा दिने कार्य लमजुङ्ग शाखा सम्म सकिएको छ ।

पर्वत शाखाको टोलीले अहिले सम्म १९ शाखाको भ्रमण गरि निमन्त्रणा दिने काम सम्पन्न गरेको छ । सदस्य शाखाबाट अन्य शाखाबाट पनि पर्वत आउने धेरै सदस्यहरुले इच्छा ब्यक्त गरिसकेको कर्माचार्यले बताए । सम्मेलनमा नेपाल जेसिजको क्षेत्र ‘ख’ अन्र्तगतका ३२ शाखाका पदाधिकारीहरु तथा नेपाल जेसिज अन्र्तगत अन्य शाखाहरुका सदस्यहरुको पनि सहभागिता रहने छ । सबै शाखा र नेपाल जेसिजका पदाधिकारी समेत गरि १ हजार भन्दा बढी सदस्यहरुले भाग लिने बिश्वास लिइएको नेपाल जेसिजका पुर्व उपाध्यक्ष तथा सम्मेलन निर्देशक बसन्तकुमार कर्माचार्यले जानकारी दिए ।

धेरै सहभागी हुने भएपछि पर्वतमा मात्रै आवासको ब्यबस्थापन गर्न कठिन हुने भएकाले सहभागीहरुलाई पर्वतको कुस्मा, बागलुङ्ग र म्याग्दीमा समेत आवासको ब्यबस्थापन गर्न लागिएको उनले जानकारी दिए । धेरै सहभागीहरुले पर्वतको चित्रे, आर्थर डाडाँखर्कमा सञ्चालित होमस्टेमा जान समेत इच्छा देखाएका छन । मौसमले साथ दिए पर्वतका ग्रामिण होमस्टेहरुमा पनि आवासको ब्यबस्थापन गर्न लागिएको र कार्यक्रम सकिएपछि भ्रमण गर्ने सदस्यहरुले इच्छा देखाएको कर्माचार्यले बताए ।