१५ भदौं
बिमस्टेक सम्मेलनमा आएका पाहुनाको एस्कर्टिङ मोटरसाइकल चिप्लिएर बुधबार कालिमाटीमा एक प्रहरी घाइते भए।

घाइते प्रहरी हवल्दार दिनेश श्रेष्ठले ‘सडकमा छरिएका स–साना गिटीमा चिप्लिएको’ बताएका छन् ।

यो दुर्घटना म्यानमारका राष्ट्रपति विन मिन्टको सवारीमा भएको हो।

सवारी कारगेड कालिमाटीबाट टंकेश्वर जाने चोक नाघेर अघि बढिसकेको थियो। कारगेडको अन्तमा दुइटा एस्कर्टिङ बाइक थिए। अघिल्लो बाइकको गति मध्यम थियो, पछाडिको तीव्र।

चोकमा एक जना ट्राफिक उभिएका थिए। पछाडिको बाइक जसै ट्राफिकनिर पुग्यो, चिप्लिएर लड्यो। भुइँमा घिस्रिँदै पर रेलिङमा ठोक्किन पुग्यो। रेलिङपारि सर्वसाधारण उभिएका थिए। उनीहरूले प्रहरीसँगै मिलेर घाइतेलाई बोके।

हवल्दार श्रेष्ठको हातमा चोट लागेको छ। उनी प्रहरी अस्पतालबाट ‘डिस्चार्ज’ भई नक्साल हेडक्वार्टरमा आराम गरिरहेका छन्।

यो घटनामा धेरैले प्रहरीलाई दोष दिएका छन्। खाली सडकमा पनि दुर्घटना गराएको आलोचना सुनिँदैछ।

हामीले उनैसँग जान्न खोज्यौं– यति ठूलो सम्मेलन र भव्य तयारीबीच यस्तो ‘चुक’ कसरी भयो?

‘कसरी भनुँ? दशा लागेको,’ ३५ वर्षीय हवल्दार श्रेष्ठले भने, ‘दशा लागेपछि अनुभवी चालकले पनि त्रिशूलीमा गाडी खसाल्छ। मेरो पनि त्यस्तै भयो भनुँ न।’

उनी त्यतिबेला ‘बुलेट’ मोटरसाइकल हाँक्दै थिए। लगभग ८० देखि ८५ किलोमिटर प्रतिघन्टाको गतिमा रहेको उनी बताउँछन्।

‘म स्पिडमा थिएँ। सडकमा सायद खाल्डो थियो। खाल्डो भर्खरै पुरेको हुनसक्छ। स–साना गिटी छरिएका थिए। मैले याद गरिनछु। मेरो ध्यान अगाडि उभिएको ट्राफिकमा थियो। उनी अर्कोपट्टि फर्केर उभिएका थिए। छलेर अगाडि बढ्न खोज्दा टायर त्यही साना गिटीहरूमा परेर चिप्लियो। बाइक थाम्नै सकिनँ,’ श्रेष्ठले घटनाको कारण बताए।

हेर्नुहोस् भिडियो: