१३ भदौं
काठमाडौं, भदौं १२ – काठ तस्कर गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ परेका सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद भण्डारी बर्खास्त भएका छन् ।

पदीय दुरुपयोग गरी संगठनको छवीमा आँच पुर्याउने काम गरेको भन्दै गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरी नियमावलीको नियम ११५ को उपनियम १ अनुसार भण्डारीलाई बर्खास्त गरेको हो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक भण्डारी गत जेठ २१ गते १ सय ८४ थान सालको काठ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा धनकुटाको साँघुरीगढी गाउँपालिकास्थित मुलघाटबाट पक्राउ परेका थिए । पक्राउ लगत्तै अनुसन्धानका क्रममा गृह मन्त्रालयले उनलाई निलम्वन गरेर छानविन थालेको थियो ।

छानविनको क्रममा डिएसपी भण्डारीले तस्कर गरेको स्वीकार गरेसँगै मन्त्रालयले उनलाई पदबाट बर्खास्त गरेको हो । गृहसचिव प्रेम राईले सचिवस्तरीय निर्णय गरी भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी भण्डारीलाई सेवाबाट बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।