११ भदौ
पर्वत । साविकको कृषि विकास कार्यालयलाई विस्थापित गरि पर्वतमा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । पर्वत र बागलुङलाई कार्यक्षेत्र बनाएर पर्वतको कुश्मामा कृषि केन्द्र सञ्चालन गरिएको हो । गण्डकी प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखवहादुर थापाले आईतबार कृषि ज्ञान केन्द्रको उद्घाटन गर्नुभयो ।

कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लेखबहादुर थापाले संघीय सरकार मातहत रहेको कार्यालय प्रदेश सरकारमा हस्तान्तरण भएको बताउनुभयो । प्रदेश सरकार मातहत सबै कार्यालय आउने र यसमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये ६ जिल्लामा कृषि र ७ जिल्लामा भेटरिनरी कार्यालय खुल्ने उहाँले बताउनुभयो । उहाँले जग्गा ‘चक्लाबन्दी’ योजना ल्याउने बताउनुभयो ।जमिन बाँझो राख्ने, जमिन आगटेर खडेरी र उद्योग खोल्ने कार्यलाई पूर्ण रुपमा निरुत्साहित गरिने मन्त्री थापाले बताउनुभयो । कृषिलाई प्रदेश सरकारले प्राथमिकता दिएको पनि मन्त्री थापाले बताउनुभयो ।
गत आर्थिक बर्ष खारेज भएको कृषि कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीलाई कार्यालय प्रमुखको जिम्मा दिइएको छ । १६ जनाको दरबन्दि रहने ज्ञानकेन्द्रमा अधिकृत ६ जना, प्राविधिक सहायक ३ जना, लेखापाल १ जना, खरिदार १ जना, ड्राईभर १ जना,कार्यालय सहयोगी ३ जना कर्मचारी रहने जनाइएको छ ।

पर्वतका ७ र बागलुङका १० वटा स्थानीय तह ज्ञान केन्द्रका कार्यक्षेत्र हुन् । गाउँपालिका र नगरपालिकामा वीउ र मलको व्यवस्था, माटोको परिक्षण, नर्सरी खेती गर्ने तरिका सिकाउने, आधुनिक फम सञ्चालर्न, केन्द्रिय र प्रदेशका कार्यक्रममा समन्वय, व्यवसायिक कृषकलाई तालिम लगायतका कार्यक्रम यहाँबाट सम्पादन हुने जनाइएको छ । खास गरि ज्ञानकेन्द्रले उत्पादकत्व वृद्धि गर्न सहजीकरण गर्ने कार्यालय प्रमुख बासुदेव रेग्मीले बताउनुभयो । सरकारले गत आर्थिक वर्षको अन्त्यसम्ममा कृषि कार्यालय खारेज गरेको थियो ।