९ भदौ
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा आज बिहान सर्वदलीय बैठक आह्वान गरिएको छ ।

बिहीबारदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा शुक्रबार एकको मृत्यु र दर्जनौं प्रदर्शनकारी तथा प्रहरी घाइते भएपछि स्थिति संयमित बनाउन जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरिएको हो ।
बैठकमा शान्तिपूर्ण वातावरण बनाएर निर्मला पन्त हत्याकाण्ड छानविन गर्ने लगायत अन्य सुरक्षाका विषयमा छलफल भइरहेको सुरक्षा समितिका एक सदस्यले बताउनुभएको छ । बैठकमा राजनीति दल, नागरिक समाज, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी छन् ।

आन्दोलनका कारण स्थिति जटिल बनेपछि प्रशासनले शुक्रबार राति ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा (कर्फ्यू) लगाइएको छ । आन्दोलनका कारण विगत पाँच दिनयता यहाँको बजार, यातायात, शिक्षण संस्थालगायत बन्द छन् ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिले पनि शुक्रबारबाट प्रारम्भिक चरणको अनुसन्धान थालिसकेको छ भने जिल्लामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख कुबेर कडायतले शान्तिपूर्ण वातावरण बनाएर बालिका हत्याको अनुसन्धान गर्ने वातावरण पहल गरिरहेका छन् ।
अहिले पनि प्रदर्शन जारी

कन्चनपूर सदरमूकाममा अहिले पनि नागरीक समाज,संघ संस्था लगायत स्थानियवासीले नारा लगाएर वजार परिक्रमा गरेका छन् ।
निर्मला पन्त छोरी हो,हत्यारालाई फासी दे,नालायक प्रहरी प्रशासन मूर्दावाद,हत्यारालाई कार्वाही गर,हत्यारा वचाउन पाईदैन,नालायक प्रशासन चाहिदैन लगायतका दर्जनौ नारा लगाएका छन् ।