३ भाद्र
काठमाडौ । मेलम्ची खानेपानी आउनु अघि नै काठमाडौंवासीले दैनिक थप तीन करोड लिटर पानी पाउने भएका छन् । खानेपानी मन्त्री बीना मगरको निर्देशनमा आयोजना कार्यान्वयन निर्दैशनालयले सुन्दरीजलमा प्रसोधन प्लान्ट स्थापित गरि बागमतीको पानी काठमाडौं ल्याउने भएको हो ।
शनिबार एक औपचारिक कार्यक्रमकाबीच सभामुख कृष्णबहादुर महराले महाकालस्थित थोक वितरण केन्द्रमा चाबी घुमाएर राजधानीमा थप पानी वितरणको शुभारम्भ गरे ।

योसँगै अब उपत्यकाको महाकाल थोक वितरण केन्द्रबाट जोरपाटी हुँदै बागबजारसम्मका धाराहरुमा पानी वितरण नियमित हुने छ । यो थप पानीले काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट जडान भएका दुई लाख १६ हजार धाराहरुमध्ये करिब ७० हजार धारामा थप पानीको आपूर्ति हुने छ ।

यो पानी हप्तामा पाँच दिन दैनिक दुई घण्टाको दरले राजधानीवासीले पाउने भएका छन् । यो पानीबाट महाकालस्थित पानी पोखरीको सेवा क्षेत्र कपन, सरस्वतीनगर, बौद्ध, जोरपाटी, चाबाहिल, हाँडिगाउँ, ज्ञाने्रवर, नक्साल, बानेश्वर, अनामनगर, पुतलीसडक, डिल्लीबजार, बागबजार, महाइतीघर, त्रिपुरेश्वर र नयाँ सडक क्षेत्रका ८ लाख ४० हजार जनता प्रत्यक्षरुपमा लाभान्वित हुने छ ।

अपरान्ह सुन्दरीजल पुगेको सभामुख महरा र खानेपानी मन्त्री बीनाले मेलम्ची सुरुङ र प्लान्टको निरिक्षण गरेका थिए । आयोजना कार्यान्वयन निर्देशनालायका कर्मचारीहरुले पानी प्रशोधन प्रणालीका बारेमा सभामुख र मन्त्रीलाई बिस्तृत जानकारी गराएका थिए । क्षेत्रगत निरिक्षणपछि महाकालमा आयोजित औपचारिक कार्यक्रममा पानी वितरणको उदघाटन सभामुख महराले गरे ।