भदौ ३
रोशन तिवारी पर्वत । सुचना केन्द्र डट.कमको आयोजनामा पत्रकारलाई सम्मान सहित साँगितिक कार्यक्रम गरिएको छ । पाँचौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सुचना केन्द्र डटकमले कार्यक्रमको आयोजना गरेको हो । शनिवार सिद्धेश्वर चलचित्र हलमा कार्यक्रमको आयोजना गरि पत्रकारलाई सम्मान गरियो भने कलाकारहरुले साँगितिक मनोरञ्जन प्रदान गरे ।
सम्मानित हुनेमा रेडियो शालिग्रामका स्टेशन म्यानेजर एवं नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद घायल, कालिगण्डकी दैनिकका सम्पादक एवं पत्रकार महासंघ पर्वतका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, ठुलो पर्दा अनलाईन टिभीका सञ्चालक जीवन पराजुली रहेका छन् । उनीहरुलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
त्यस्तै पत्रकार महासंघका उपाध्यक्ष रन्जना खत्री, रेडियो कुसुमका स्टेशन प्रमुख कृष्ण अखेली र पर्वत खबर साप्ताहिकका सम्पादक गणेश पौडेललाई पनि सम्मान गरिएको छ । सो अवसरमा मुख्य प्रायोजक, प्रायोजक, सहयोगी, सञ्चारमाध्यमलाई मायाको चिनो वितरण गरिएको छ । कार्यक्रममा गायक शिव परियार, बद्रि पंगेनी, संझना भण्डारी लगायतले साँगितिक मनोरन्जन प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघीय साँसद पदम गिरीले सञ्चार जगतले समाजलाई सहि दिशा निर्देश गरेको बताउनुभयो । अहिले नयाँ मुलुकी संहिताका कारण पत्रकारमा देखिएको अन्यौलको अन्त्यका लागि आफुले पहल गर्ने बताउनुभयो । गिरीले विकास र समृद्धि चुट्कीका भरमा नआउने भन्दै विकास र समृद्धिका लागि केहि समय कुनुपर्ने बताउनुभयो । उहाँले सञ्चारकर्मीहरुलाई नागरिकका मुद्धालाई ढुक्क भएर लेख्न र बोल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सुचना केन्द्र डट.कम अनलाइनका प्रबन्ध निर्देशक बैकुण्ठ गिरीले पत्रकारितामा लामो समय सम्म रहेर काम गरेका अग्रज र कृयाशिल पत्रकारहरुलाई हौसला दिनका लागि ५ औं बार्षिकउत्सवमा सम्मान गरेको बताउनुभयो । उक्त कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य राधा क्षेत्री,समाजसेवी लक्ष्मण श्री,पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, पत्रकार गणेश पौडेल लगायतले बोल्दै सुचना केन्द्र अनलाईनको सफलताको कामना ब्यक्त गरेका थिए ।

सयौँको संख्यामा दर्शकहरुको सहभागिता रहेको कार्यक्रम साँझ अवेर सम्म चलेको थियो । यो कार्यक्रमलाई विभिन्न व्यवसायिक फर्म, स्थानीय तह, व्यवसायीहरुले आर्थिक सहयोग गरेका थिए ।