२३ साउन
काठमाडौं। सरकारमा आएदेखिनै सत्तारुढ नेकपाले अर्धभुमिगत झै भएको नेकपाका नेता कार्यकर्तामाथि शुरु गरेको निगरानी र धरपकड पूर्वमन्त्री समेत भइसकेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहितका नेता कार्यकर्ता पक्राउ गरेर जारी राखेको छ।
सशस्त्र द्धन्दको १० बर्षसम्म एउटै मोर्चामा भुमिगत भएर तत्कालिन सत्तासँग लडेका तत्कालिन माओवादीहरु अहिले फरक फरक भुमिकामा फरक फरक मोर्चामा एक अर्काविरुद्ध उभिने अवस्थामा पुगेका छन्।
यो पक्राउसँगै केपी ओली र प्रचण्डले नेतृत्व गरेको सत्तारुढ नेकपा विरुद्ध विप्लवको नेतृत्वको अर्धुमिगत भएको नेकपा आक्रामक हुने देखिएको छ।
केपी – प्रचण्डको फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी समेत दिएका छन्।
सत्तामा गएपछि कम्युनिष्ट चरित्र त्यागेकोमा नेतृत्वसँग रुष्ट रहँदै आएका विप्लवले त्यसयता गठन गरेको नेकपा केहि समयदेखि अर्धभुमिगत गतिविधीमा छ। तोडफोड, आगजनी, वम विस्फोट, चन्दा असुली लगायतमा संलग्न रहेको आरोपमा सरकारी संयन्त्रहरु नेकपाका नेता कार्यकर्ताहरुलाई निगरानी गर्दै खोजतलासमा समेत रहेको छ।
भुमिगत शैली र प्रवृतीका राम्रो जानकार गृहमन्त्री राम बहादुर थापा वादल यि कुराबाट अनविज्ञ हुने कुरा पनि भएन। उनले सडक हुँदै अर्धभुमिगत भएको नेकपा र त्यसको नेतृत्वलाई धेरै अघी बढ्न नदिइ शुरुमै दवाउने रणनीति अख्तियार गरेको प्रकाण्डको पक्राउले पुष्टी गरेको छ।
विश्वकर्मालाई गएराति चाल्नाखेलबाट पक्राउ गरि बुधवार नै अदालतमा प्रस्तुत गरिएको थियो। विश्वकर्मामाथि चन्दा संकलन तथा विष्फोट लगायतका घटना गराएको आरोप सरकारले लगाएको छ।
२०६८ सालमा झलनाथ खनालको प्रधानमन्त्रीकालमा विश्वकर्मा पर्यटन तथा नागरिक उड्ययन मन्त्री थिए।उनलाई महानगरीय प्रहरी परिसरमा राखिएको छ। विश्वकर्मासहित मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य ‘विमर्श’ पनि पक्राउ परेका छन्। मंगलबार मात्रै नेकपाका अर्का केन्द्रीय नेता आजाद केसीलाई भक्तपुरको डेराबाटै पक्राउ गरिएको थियो ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता, पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्ड काठमाडौंबाट पक्राउ गरेकोमा महासचिव विप्लवले भत्सर्ना गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको गिरफ्तारीको भत्सर्ना गरेका हुन्।
महासचिव विप्लवद्वार जारी विज्ञप्तिमा भनिएको छ, ‘ काठमाडौँको दक्षिणकालीबाट हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको छ। हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ। अन्यथा पार्टी फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ। त्यसबाट निस्कने परिस्थितिको यो सरकार नै जबाफदेही रहनेछ। केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउँदै गएको छ। सरकारको यो रबैयाको कडा प्रतिवाद गर्न पनि हाम्रो पार्टी नेपालका सबै सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गर्दछ।’
नेताहरु पक्राउको विरोधमा नेकपाले साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ।









