साउन २३, पर्वत । गत शुक्रवारदेखि हराएका हरी प्राथमिक विद्यालयका प्रधानाध्यापकको आज शव भेटिएको छ । कुश्मा नगरपालिका ९ सालविसाउनाका ५९ बर्षीय शिवप्रसाद पौडेलको अलपेश्वर गुफा भित्र मृत अवस्थामा भेटिएको हो ।
मृतक पौडेल पर्वतकै मोदी गाउँपालिका ६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानध्यापक हुन् । कुस्मा नगरपालिका वडा नं ९ स्थित अलपेश्वर गुफाको सबैभन्दा तल्लो भागमा बुधबार दिउँसो प्रअ पौडेल मृत भेटिएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभयो ।
अलपेश्वर गुफा भित्र उनले कम्मरमा बाँध्दै आएको पटुकी भेटिएपछि आफन्त र प्रहरीले खोजी गर्ने क्रममा गुफाको सबैभन्दा तल्लो भागमा ढुंगामा अड्किएको अवस्थामा शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक पौडेलको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । करिव ३८ बर्ष शिक्षण गरेका पौडेल १७ बर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।
उनी बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गर्दै आएका थिए । मृतक पौडेलले अन्तिम पत्र भनेर घरमा लेखेर छाडेको पत्रमा छोराछोरीलाई राम्रो संग पढाउन नसकेको तथा जीवनमा केही गर्न नसकेको लेखेका थिए । बेपत्ता शिक्षक पौडेलका १ छोरा र १ छोरी छन् । छोरा वैदेशिक रोजगारका शिलशिलामा दुवईमा रहँदै आएका छन् भने छोरीको विवाह भइसकेको छ ।









