१८ साउन

पर्वत–नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व साँसद अर्जुनप्रसाद जोशीले काँग्रेसले सरकारको विरोध मात्र नगर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन संघ जिल्ला कार्यसमिति पर्वतले बिहिवार  कुश्मामा आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा जोशीले  सरकारको राम्रो कामको समर्थन र गलत कार्यको विरोध गर्ने बताए ।

नेता जोशीले प्रतिपक्षको काम सरकारले गरेको कामको विरोध मात्र गर्ने नभएको भन्दै सरकारले राम्रो काम गरेको खण्डमा समर्थन गर्ने बताए । उनले राष्ट्रसेवक कर्मचारी माथि सरकारले अधिनायकवादी चरित्र देखाएको टिप्पणी गरे ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले कानूनसम्मत गरेका निर्णयहरु एकाएक खारेजी गरिएको भन्दै उनले सदन, सडक र सबैतिरबाट सकारको प्रतिवाद गरिएको स्पष्ट पार्नुभयो । त्यस्तै कम्युनिष्टहरुले दुई तिहाईको दम्भ त्यागेर जनभावना अनुरुप काम गर्नु पर्ने उनले सुझाव दिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व साँसद अर्जुनप्रसाद जोशी, कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले बर्तमान सरकारले कर्मचारी, उद्योगी व्यवसायीहरुलाई गिद्धे दृष्ट्रि लगाएको आरोप लगाए  । सभापति भुषालले कर्मचारी माथि सरकारले हस्ताक्षेप गर्दै गएको बताए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघ गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी, नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामवहादुर मल्ल‘रामकृष्ण’,कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, नेपाल निजामती कर्मचारी युनियन संघका निर्वतमान अध्यक्ष धुव्र सुवेदी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

सदरमुकाम कुश्मामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका निवर्तमान अध्यक्ष धुर्व सुवेदी, पूर्व कर्मचारी बेदप्रसाद शर्मा र कृष्णप्रसाद आचार्य लाई विदाई गरिएको छ । सोहि अवसरमा गुणराज पौडेल, रघुनाथ चापागाई र कल्याण पौडेललाई कर्मचारी युनियन संघमा स्वागत गरिएको छ नेपाल निजामती कर्मचारी युनियन संघका कार्यवाहक अध्यक्ष यामप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय प्रतिनिधी विमल पौडेल र कार्यक्रमको संचालन आधिकारिक टे«ड युनियनका उपाध्यक्ष राम शर्मा लामिछानेले गरेका  थिए ।