५ पुस
काठमाडौं । नेताहरुको टकरावकैबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक आज अपरान्ह बस्दैछ । पुर्व निर्धारित समय अनुसार आइतबार अपरान्ह १ बजे बालुवाटारमा बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुने पूर्वनिर्धारित एजेण्डा छ ।
गत बुधबार बसेर चार दिनका लागि स्थगित भएको बैठकको बीचमा नेताहरुबीच आपसी संवादमार्फत् सहमति खोज्ने प्रयास भएपनि आ–आफ्नै अडानका कारण त्यो सफल हुन सकेन । बैठकको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता गर्नुपर्ने भएपनि चारदिनसम्म पनि ओलीले त्यसको पालना गरेका छैनन् ।
शनिबार दुई अध्यक्ष ओली र प्रचण्डबीच भएको छलफलमा ओलीले प्रचण्डलाई आफूमाथिको (आरोपपत्र) प्रस्ताव फिर्ता भएमात्रै अध्यादेश फिर्ता गर्ने र बैठकमा पनि सहभागी हुने बताएका थिए । तर, प्रचण्ड आफ्नो प्रस्ताव फिर्ता लिन तयार भएनन् र बैठकबाटै हुने निर्णय लागु गर्नुपर्ने अडान दोहोर्याए ।









