३ पुस

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आत्नरिक विवाद चर्किएकै बेला अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुको भेला गर्न लागेको छ ।

सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवलाई क्रमशः बोलाईएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । भेलाको पहिलो दिन शुसक्रबार प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरुलाई काठमाडौंमा बोलाएको हो । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा हुने भेलामा केपी ओली इतर समूहका अध्यक्ष र सचिवहरुलाई शीर्ष नेताहरुले पार्टीभित्रको पछिल्लो अवस्थाबारे जानकारी र आवश्यक निर्देशन दिने ती नेताको भनाइ छ ।

प्रचण्ड–नेपाल पक्षले सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भेला क्रमशः काठमाडौंमै  गर्न लागेको हो । अध्यक्ष र सचिवहरुलाई आफ्नो पक्षको रणनीतिबारे निर्देशन दिएर जिल्ला पठाउने तयारी प्रचण्ड पक्षको छ । यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत गरिसकेको छ ।

पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले विद्यार्थीको भेला समेत बिभिन्न प्रदेशमा गरिसकेको छ । अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीले आनाकानी गरिरहेको भन्दै ती नेताले आजको बैठकमा यसबारेमा सचिवालयका नेताहरुले आफ्नो पक्षको धारणा राख्ने ती नेताले बताए ।

ओली र प्रचण्ड पक्षबीच विवाद बढ्दै जाँदा नेकपाभित्र गुट गुटका कार्यक्रम गर्ने क्रम पनि बढेको छ । सरकारले पछिल्लोपटक ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसँगै नेकपा विवाद उत्कर्षमा पुगेको छ । बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति जनाएका ओलीले आनाकानी गरेपछि प्रचण्ड पक्ष नयाँ रणनीतिमा लागेको हो ।