३ मंसीर
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा उत्पन्न संकट समाधानका लागि आफूले पनि अलग्गै प्रस्ताव ल्याउने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डले एकतर्फी रुपमा राजनैतिक प्रस्ताव ल्याएको भन्दै आफूले पनि छुट्टै प्रस्ताव पेश गर्ने बताएका हुन् । यसअघि अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव फिर्ता लिन ओलीले गरेको आग्रह उनले अस्वीकार गरेपछि ओली पनि आफ्नो अलग्गै प्रस्ताव पेश गर्ने मुडमा पुगेका हुन् ।
उनले आफ्नो बेग्लै प्रस्ताव आउने जानकारी दिएपछि यसअघि बैठकमा पेश भएका प्रस्ताव र सामाग्रीसहित सम्पूर्ण दस्तावेजहरुमा एकमुष्ट छलफल गर्ने निर्णय सचिवालय बैठकले गरेको छ । त्यसका लागि नेकपा सचिवालयको अर्को बैठक मंसीर १३ गते शनिबार बस्ने भएको छ । सचिवालयमा राजनैतिक लगायतका विषयको निरुपण गरेर सोही बैठकले आगामी स्थायी समिति र केन्द्रिय कमिटी बैठकको एजेण्डा टुंगो लगाउने नेताहरुले बताएका छन् ।









