२० कार्तिक

कावासोती । कालीगण्डकी करीडोर निर्माणको क्रममा नवलपरासीको बुलिङटार गाउँपालिकामा पहिरो पन्छाउने क्रममा पहिरोले पुरिँदा एकै टोलका ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

बुधबार अपरान्ह बुलिङटार गाउँपालिका वडा नं. ३ को खसुवाटार र सिगुंवाको बीचमा रहेको पहिरो पन्छाउने क्रममा पहिरोले पुरिएर बुलिङटार गाउँपालिका वडा नं. ४ का एकै टोलका ५ जनाको मृत्यु भएको हो ।

यसरी पहिरोमा पुरिएर जयन गुमाउनेमा बुलिङटार गाउँपालिका वडा नं. ४ का २८ वर्षीय तुलबहादुर सारु मगर, २० वर्षीय गोपाल गरँजा मगर, ४२ वर्षीय सुनबहादुर पूलामी मगर, २० वर्षीय ताराबहादुर लुगेंली मगर र २० वर्षीय चेतबहादुर अस्लामी मगरको मृत्यु भएको बुलिङटार गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष चेतबहादुर गोदामी मगरले बताए । उनीहरु सबै अर्खला ढुँग्रे गाउँका बासिन्दा हुन् ।

सदरमुकाम कावासोतीबाट झण्डै ४० किलोमिटर पहाडी उत्तरी क्षेत्रको बुलिङटार गाउँपालिका वडा नं ३ मा भएको सो घटनामा गम्भीर घाईते सोही गाउँका २१ वर्षीय कृष्णा लुगेंली मगर र २० वर्षीय केबल सिहं लुगेंली मगरलाई उपचारका लागि भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाटो निर्माणका क्रममा डोजरले माथि खन्दै गर्दा एक्कासी पहिरो झरेपछि काम गर्दै गरेका उनीहरुले पहिरोले पुरेको प्रहरीले जनाएको छ । कालीगण्डकी करीडोर निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको बेलामा यो घटना भएको र सो कालीगण्डकी करीडारको ठेक्का भारतीय कम्पनी ईकेके कन्सटक्सनले लिएको छ ।