३० असोज

बागलुङमा नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो ।

त्यस्तै अघिल्लो बुधबार नेपाली सेनाका २८ जनामा एकसाथ सङ्क्रमण पुष्टि भएको थियो । नेपाल प्रहरीमा पनि सङ्क्रमित थपिँदै गएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका १४ जनामा बिहीबार सङ्क्रमण पुष्टि भएको हो ।

बिहीबार मात्रै नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत तीनसहित ५१ जना सङ्क्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसीआर जाँचमा ४५ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

सङ्क्रमितमध्ये विदेशबाट आई क्वारेन्टिनमा बसेका समेत छन् । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५८५ पुगेको छ । केही समयअघि नियन्त्रणउन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्लो दुई सातामा झण्डै २ सय सङ्क्रमित थपिएका छन् ।

प्रमुख गुरौले अहिले ‘क्लस्टर’मा बढी सङ्क्रमण देखिएको र समुदायस्तरमा फैलन नदिन उच्च सावधानी अपनाउनुपर्ने बताए । यात्रा विवरण नभएका र सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्क नभएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थाले त्यो चिन्ताको विषय हुने उनले उल्लेख गरेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३८८ छ भने आइसोलेसनमा १९५ सङ्क्रमित छन् । क्वारेन्टिनमा रहेकाको सङ्ख्या ५६ छ । हालसम्म ८ हजार ७२२ जनाको पिसिआर जाँच गरिएको छ । सङ्क्रमित हुनेमा पुरष ९१ र महिला ९ प्रतिशत छन् ।