८ असोज
पर्वत । नेपाल निजामती कर्मचारी यूनियन संघ पर्वतले आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । जिल्ला प्रसासन कार्यालयमा पुगेर आज ध्यानाकर्षण पत्र पठाएर संघले निर्धारित निर्वाचन स्थगित गर्ने निर्णय फिर्ता लिन भनेको हो ।

नेपाल निजामती कर्मचारी यूनियन संघका जिल्ला अध्यक्ष यामप्रसाद शर्माको नेतृत्वमा गएको कर्मचारीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई ज्ञापन पत्र बुझाएको छ । असोज २४ गते निर्वाचनको मिति तोकिएपछि सबै जिल्ला तथा विभागिय ईकाइहरुमा निर्वाचन कार्यालय स्थापना भएको र अरु सम्पूर्ण तयारी पुरा भएको अवस्थामा सरकारले निर्वाचन स्थगित गरेकोमा संघले आपत्ती प्रकट गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

सरकारले कोरोना भाईरसको संक्रमणलाई कारण देखाएर निर्वाचन स्थगितको निर्णय गरेको हो । अहिले देशैभरि लकडाउन खुल्ला भएको बेला सरकारले हठातमा निर्वाचन स्थगित गर्दा कर्मचारीहरु आश्चर्यमा परेका छन् । निर्वाचन रोक्नुलाई नेपाल निजामती कर्मचारी यूनियन संघले सरकारले लोकतान्त्रिक पदतीको उपहास गरेको ठहर गरेको छ ।

पछिल्लो समय लोकसेवा आयोगबाट सिफारिस भई कितावखानामा नाम दर्ता भएका र स्वास्थ्य क्षेत्रका कर्मचारीलाई पनि निर्वाचनमा भाग लिने वातावरण बनाउन अनुरोध गरिएको छ । तोकिएको मितिमै निार्वचन गर्न माग गर्दै पर्वतबाट संघले माग गरेको छ भने माग पुरा नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।