२६ भदौं
पर्वत । पर्वतको कुश्मा नगरपालिकाले कोरोना (भाइरस) रोकथाम, नियन्त्रण, ब्यवस्थापन र राहत वितरणमा हालसम्म झण्डै सवा करोड रुपैया खर्च गरेको छ ।
गत चैत ११ गतेपछि हालसम्म नगरपालिकाले १ करोड १८ लाख ९५ हजार ७ सय ३७ रुपैया खर्च गरेको हो ।
कोरोना भाईरसको संक्रमणपछि कोराना कोष र प्रकोप नियन्त्रण कोषमा जम्मा भएको २ करोड ६३ लाख ५ हजार रुपैया मध्ये १ करोड १८ लाख ९५ हजार ७ सय ३७ रुपैया खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनीले जानकारी दिनुभयो । उहाँका अनुसार अब कोषमा १ करोड ४४ लाख ९ हजार रुपैया मौज्दात रहेको छ ।
पंगिनीका अनुसार प्रकोप व्यवस्थापन कोषमा गत वर्षको मौज्दात १० लाख १ हजार रहेको थियो भने कोरोना नियन्त्रण कोषमा २ करोड बिनीयोजन भएको थियो । त्यसैगरी मुख्यमन्त्रीको कार्यालयद्धारा राहत वितरणका लागि रु १० लाख, सामाजिक विकास मन्त्रालयवाट क्वारेन्टीन व्यवस्थापनका लागि ६ लाख ५० हजार, प्रधानमन्त्री उद्धार कोषबाट २ लाख २८ हजार, ६ सय २५, नगरपालिकाका कार्यरत कर्मचारीवाट ९ लाख ७५ हजार २ सय ५३, शिक्षिकहरुवाट १० लाख ४० हजार ७ सय २ र अन्य पदाधिकारी संघ, संस्थाहरुवाट १४ लाख ९ हजार ३ सय ४६ आम्दानी भएको थियो ।
उक्त रकम मध्येवाट नगरपालिकाले वडागत रुपमा राहत वितरणका लागि ४६ लाख ९५ हजार ४ सय, पुलिङ क्वारेन्टिनको खर्च २६ लाख १८ हजार, पिपिई, औषधीजन्य सामाग्री, मास्क र सेनिटाईजरका लागि १२ लाख ३८ हजार, वडागत क्वारेन्टाईन व्यवस्थापनका लागि २९ हजार ३ सय ७५ रुपैया खर्च भएको छ । त्यसैगरी कोभिड नियन्त्रण सामाग्री र जनचेतनामा २ लाख ७७ हजार, कोरोना अस्पताल व्यवस्थापनमा ३० लाख ३६ हजार खर्च भएको प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनीले जानकारी दिनुभयो ।
नगरपालिकाले तीन हजार भन्दा बढि परिवारलाई राहत वितरण गरेको थियो । सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाले जिल्लाका अन्य स्थानीय तहभन्दा झण्डै दोब्बर रकम कोरोना व्यवस्थापनमा खर्चिएको हो ।
नगरपालिकाको अगुवाईमा अस्थायी कोरोना अस्पताल निर्माण गरेर जिल्लाभरीका संक्रमितहरुलाई उपचार गर्ने व्यवस्था मिलाईएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । सातै पालिकाको साझेदारी रहेपनि सवैभन्दा बढि लगानी कुश्मा नगरपालिकाले गरेको छ । कोरोना रोकथाम र न्यूनिकरणका लागि कुश्मा नगरपालिकाले सवै पक्ष र क्षेत्रमा सक्रियता बढाएको उहाँको भनाई छ ।









