२२ भदौं
निजामती सेवा भन्नाले मूलुकको संविधान र कानूनले परिभाषित गरेको, योग्यता प्रणालीवाट छनौट भएका जनशक्ति रहेको, गैह्र सैनिक प्रकृतिको, सरकारको नीति व्यवस्थापन र कानूनको कार्यान्वयनमा संलग्न रहने एवम आधारभूत सार्वजनिक सेवा प्रदान गर्ने सार्वजनिक प्रशासनको प्रमुख अंग हो । निजामती सेवाका आधारभूत विशेषताहरु, मूल्य र मान्यताहरु तथा यस सेवाका संस्था र कर्मचारीहरुले कार्यसम्पादनमा अवलम्वन गर्दै आएको शैली, चरित्र र संस्कारको सार “व्यूरोक्रेसी“ भन्ने चर्चित नामवाट समेत यसलाई विश्वभर चिनन्छ। निजामती प्रशासनलाई वैधानिकता दिने र कार्यक्षेत्र निर्धारण गर्ने कार्य राजनीतिवाट हुन्छ । निजामती सेवाले राज्य र जनताका वीच भएको सामाजिक सम्झौता सोसल कन्ट्याक्ट को कार्यान्वयन गर्ने जिम्मेवारी र उत्तरदायित्व लिएको हुन्छ ।भनिन्छ, कुनै पनि देशको सरकारको सफलता त्यस देशको निजामती सेवाको कार्यसम्पादनको परिणाम, गुणस्तर र प्राप्त जनसन्तुष्ठिले निर्धारण गर्दछ ।
नेपालमा वि.स.२०१३ साल भाद्र २२ गते तत्कालिन प्रम श्री टंकप्रसाद आचार्यज्यूको सरकारले निजामती सेवा ऐन,२०१३ जारी गरेको ऐतिहासिक दिनको संझनामा वि.स. २०६१ सालवाट वार्षिकरुपमा विभिन्न नाराका साथ निजामती सेवा दिवस मनाउने कार्यको थालनी गरिएको छ । यसैबीच, यस वर्षको नारा “स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन को पृष्ठभूमिमा हाम्रो निजामती सेवाले आँफूलाई तोकिएका सार्वजनिक सेवा प्रवाहका जिम्मेवारीहरु के, कति, कसरी पुरा गर्न सक्यो वा सकेन ? समकालिन चूनौतीहरु लगायतका सम्वन्धमा खुला र आत्म समिक्षा समेत हुने गरेका छन् । आजको यस ऐतिहासिक दिनमा निजामती सेवाका कैयौं समकालिन चूनौतीहरु उजागर गर्न सकिन्छ तापनि यहाँ केही मौजुदा व्यवहारिक चूनौतीहरुको उल्लेख गर्ने जमर्को गरिएको छ ।
१. संविधानको प्रभावकारी कार्यान्वयनमा ठोस भूमिका निर्वाह गर्नुपर्नेः
संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरुको वितरण गर्नु निजामती सेवाको प्रथम चूनौती हो । नेपालमा हालसम्मका भएका सवै प्रकारका राजनैतिक क्रान्तिहरुवाट जन्मिएको तथा हुर्कंदै विकसित हुन थालेको संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत चरित्र र मूल्यहरु नेपालको संविधानमा उल्लेख गरिएका छन् । ती सवैको जीवन्त कार्यान्वयन गरी शासन प्रणाली प्रति जनविश्वासलाई अझ बलियो र दिगो बनाउने काममा सवै सरोकारवालाहरुको अभियानमा प्रशासकीय क्षेत्रवाट सघाउ पूर्याउनु निजामती सेवाको प्रथम चूनौती रहेको छ ।
२. सहशासनको मान्यता र अभ्यासको विकासमा योगदान पूर्याउनुः
नेपालको संविधानले सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित सिद्दान्तको जगमा संघीय इकाइहरुबीचको शासकीय जिम्मेवारी, स्रोत साधन र शक्तिको वाँडफाँडलाई मार्गदर्शन गरेको छ । नेपालले अंगीकार गरेको संघीयतामा अन्तरनिहित स्वशासन र साझा शासनको अवधाराणालाई संयोजन गरी मूल शासकीय प्रवन्धलाई सहशासनको अभ्यासमा विकसित गर्न आवश्यक छ । सोका लागि सहकार्यात्मक र समधुर व्यवसायिक दक्षता प्रकट गर्नुपर्नै हुन्छ। तीनै तहका सरकारको अभ्यास भै रहेको हालको समयमा सरकार र तिनीहरुका अधिकारी एवम निकायहरुबीच यदाकदा देखिन थालेको संस्थागत अहम“इन्श्टिच्यूनल हिरोइज्जम“ ले सहशासनमा वाधा पूर्याउने अवस्था आउने देखिन्छ ।
मुलुकको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्र, सहकारी क्षेत्र, गैसस , सञ्चार जगत, सामुदायक संगठनहरु लगायत सवै सरोकारवालाहरुसंग हातेमालो र सहकार्य एवम साझेदारी प्रबर्दन गर्दै अगाडि वढ्ने दिशामा निजामती सेवाले अझ वढी सत्रियता प्रकट गर्नु आजको आवश्यकता हो ।
३. नीति व्यवस्थापनमा परिपक्वताः
विश्वव्यापीरुपमा हरेक देशको निजामती सेवा “कर्मचारीतन्त्रले“ सम्पादन गर्नुपर्ने प्रमुख कार्य नीति व्यवस्थापन हो । लोकतन्त्रमा हरेक दलले निर्वाचनको समयमा सार्वभौम नागरिकहरुका सामु घोषणापत्रको प्रस्तुति मार्फत मत माग्ने र जनताले आवाधिक जिम्मेवारी वा जनादेश दिएका हुन्छन् । जनादेशप्राप्त दलले नागरिक सामु व्यक्त सार्वजनिक प्रतिवद्दाताहरुलाई मूल नीति निर्माणको प्रत्रियामा तथा क्षेत्रगत नीति तर्जुमामा प्रवेश गराउने काममा निजामती सेवाले आवश्यक सबै प्रवन्धहरुको व्यवस्था गर्नुपर्ने हुन्छ ।
नेपालमा संविधान जारी भएपछि गठन भएका मौजुदा संघीय सरकार लगायतले गरेका नीतिगत घोषणाहरुको प्रभावकारी कार्यान्वयनमा संस्थागत प्रवन्ध , कार्यान्वयन कार्यविधि र प्रणालीको विकास, सहकार्यहरुको कार्यढाँचाहरुको निर्धारण, योग्य जनशक्ति व्यवस्थापन तथा वित्तीय श्रोतको व्यव्थापन गरी सबै सरकार र जनताको सम्वन्धलाई अझवढी जीवन्त, कसिलो, फलदायी, न्यायिक र विश्वासयोग्य वनाउनु निजामती सेवाको अर्को चूनौती हो ।
४. कानूनहरुको प्रभावकारी कार्यान्वयन र नियमनः
निजामती सेवाको अर्को चूनौती भनेको मौजुदा संवैधानिक प्रवन्धहरु, संसदद्धारा निर्मित कानूनहरुको प्रभावकारीरुपमा कार्यान्वयन गरी समाजमा समन्याय, अमन चयन, सुव्यवस्था कायम गर्ने तथा नागरिकहरुका लागि कार्यकारीको आदेश र कानूनी व्यवस्थाभित्रका प्रावधानको सन्तुलनमा रही सार्वजनिक वस्तु र सेवाको प्रवाह गरी नागरिक शासनको अनुभूति दिनुपर्ने चूनौती निजामती सेवा सामु देखा परेको छ ।
५. विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउनुः
परिवर्तित संवैधानिक, राजनैतिक वातावरण तथा जनआकांक्षाका आधारमा तीनै तहका सरकारहरुमा कार्यरत निजामती कर्मचारीहरुले विकास प्रशासकको भूमिकामा रही विकास व्यवस्थापनको क्षेत्रमा सहि दिशा पहिचान गर्नु, यसको गतिलाई तीव्र वनाउनु तथा उपलब्धीलाई अझवढी नतिजामुखी र गुणस्तरीय वनाउनु पर्ने निजामती सेवाको अर्को महत्वपूर्ण चूनौती हो । समयमै योजना स्वीकृति र स्रोतको व्यवस्थापन, कार्यसम्पादन करार सहित आयोजना प्रमुख र जनशक्तिको व्यवस्थापन, वार्षिक तथा आयोजनागत कार्यान्वयन कार्ययोजनाको तयारी गरी आयोजना कार्यान्वयन प्रणालीलाई तीव्रता दिनु तथा अनुगमन लगायतका आयोजना चत्रहरुमा सुधार ल्याउनु पर्ने चूनौती रहेको छ ।
विकास कार्यामा संलग्न निर्माण व्यवसायी तथा उपभोक्ता समिति एवम लाभग्राही समूहको क्षमता र योग्यतालाई समेत प्रवर्दन र आवश्यकता अनुसार नियमन गरी विकास आयोजनाहरुको कार्यान्वयनमा तीव्रता दिने कार्यमा निजामती सेवाले आँफूलाई अग्रसर गराउनुपर्ने चूनौती खडा भएको छ ।
६. स्वधर्ममा अच्यूत र प्रशासकीय व्यवसायिकतालाई जीवन्त वनाउनुपर्नेः
निजामती सेवाको समकालिन चूनौतीहरुको चर्चा गर्दा प्रशासनविद्हरुले यस सेवाले आफ्नो कार्यसम्पादन शैली, सेवा प्रवाह र विकास व्यवस्थापनमा “स्वधर्म“ तथा ‘प्रशासकीय व्यवसायिकता“ गुमाँउदै गएको र “ब्यूरोक्रेशीको“ राम्रा मूल चरित्रमा क्षयीकरण हुँदै गएकोमा तीव्र असन्तोष र चिन्ता व्यक्त गरेका छन् । निजामती सेवाले आफ्नो काम, कर्तव्य र जिम्मेवारीको कार्य सम्पादन गर्दा देखाउनु पर्ने राजनैतिक तटस्थता, कार्य व्यवहार र निर्णय प्रत्रियामा निश्पक्षता, पारदर्शिता र जवाफदेहिता, मितव्ययिता र दक्षता जस्ता प्रशासकीय व्यवसायिकताका मूल्य र मान्यतालाई आत्मसात गर्नुपर्ने चूनौती रहेका छन् । ट्रेड यूनियन अधिकार लगायतका कारणहरुले “पार्टी पोल्टिक्समा“ रमाएका निजामती कर्मचारीहरुलाई आचार संहिता मार्फत ‘ पोलिसि पोल्टिक्समा ‘ मात्र सीमित गरी नागरिकहरुको दृष्टिमा साझा व्यक्तित्व “न्यूट्रल कम्पिटेन्ट पर्सानालिटि“ वनाउनु पर्ने चूनौती सेवाका सामू देखापरेको छ ।
७. संकट/ विपद व्यवस्थापनमा पूर्व सक्रियता तथा कुशलता देखाउनुपर्नेः
संकट त्यस्तो प्राकृतिक तथा मानव सिर्जित अवस्था हो जसको प्रकृति, दायरा, आगमनको सूचना ज्ञात पनि हुन सक्छ अज्ञात पनि हुनसक्छ भने त्यसको असर र प्रभावको पूर्व अनुमान लगाउन पनि सकिन्छ नलगाउन पनि सकिन्छ ।
निजामती सेवाले समय समयमा मूलुकमा देखा पर्ने गरेका आकस्मिक संकट र चूनौतीहरुको समेत सामानाका लागि धैर्यता,समन्वय र सहकार्यका साथ आँफूलाई तयारी हालतमा राख्नुपर्दछ । मौजुदा “कोभिड– १९“ को महामारी कारण उत्पन्न संकट व्यवस्थापनको आवाधिक मूल्यांकन र अनुभवको सिकाइले यस प्रकारका आकास्मिक समस्याहरुको समग्र व्यवस्थापनका लागि “प्रो एक्टिभ“ भै समयमै योजना निर्माण, तयारी र रोकथाममा लाग्नुपर्ने थप ज्ञान र शिक्षा सरोकारवालाहरु लगायत निजामती सेवाले पनि प्राप्त गरेको छ । अतः विवद जोखिम न्यूनीकरण र महामारी लगायतका अवस्थाहरुको रोकथामका लागि संसद तथा राजनैतिक कार्यकारीको निर्णय समेतका आधारमा सुरक्षा निकाय एवम सरोकारवाला निकायहरु र आम नागरिक समाजसंग समेत हातेमालोका लागि प्रशासकीय प्रवन्ध मिलाउनु निजामती सेवाको प्रमुख कार्य हो ।
८. काम र जीवनको सन्तुलन मिलाउनुपर्नेः
निजामती सेवाले सेवा भित्र रहेका जनशक्तिको सही व्यस्थापन गरी आफ्नो कार्यक्षेत्र बमोजिमको कर्तव्य पुरा गर्नु पर्ने दायित्व र कर्तव्यका वीच राष्ट्रसेवकहरुको निजी जीवन र कामकाबीच सन्तुलन “वर्क लाइफ व्यालेन्स“ मिलाउनु पर्ने टड्कारो अवस्था विधमान रहेको छ । निजामती कर्मचारीहरुले एकातिर स्वयमको वृति विकासको अवसरको खोजि, आफ्नो शारिरीक र मानसिक स्वास्थ, पारिवारिक तथा सामाजिक दायित्वका लागि समय व्यवस्थापनलाई ध्यान दिनु पर्नेछ भने अर्को तर्फ माथिका निजी विषयमा मात्र दृष्टि दिँदा आफ्नो कर्तव्य, सरकारको कार्यसम्पादन र नागरिकहरुको सेवामा कुनै पनि कमजोरी रहनु हँदैन् ।
संसद, सरकार र निजामती प्रशासनको उच्च नेतृत्वले परिस्थिति अनुकुल भएका समयमा मूलुकको राजस्व र श्रोतले धान्न सक्ने गरी निजामती सेवकहरुको “क्वालिटि अफ लाइफ“का लागि उचित पारिश्रमिक, आवास, शिक्षा र स्वास्थ्य, निवृत्त जीवन पछिको योजना लगायतको विषयमा ठोस योजना बनाउनुपर्ने चूनौती देखा परेको छ ।
९. जनशक्ति व्यवस्थापन र सक्षमता विकासमा देखिएका चूनौतीहरुः
निजामती सेवाको समकालिन चूनौती भनेको सेवामा आवश्यक पर्ने जनशक्तिको सामायिक योजनाको तयारी र निर्माण, पहिचान, भर्ना, छनौट , नियुक्ति, पदस्थापना, विकास, उपयोग र “लेट क्यारियर म्यानेजमेन्ट“ मा परिमार्जन र सुधार पनि हो । मूलतः यस अन्तर्गत हाल चारवटा चूनौतीहरु देखापरेका छन् ।
प्रथमतः संघीय निजामती सेवा ऐनलाई समयमा तर्जुमा गरी कार्यान्वयनमा ल्याउन आवश्यक छ । तीनै तहका सरकारहरुको कामको कार्य विश्लेषण हेर्दा संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहहरुमा दरवन्दीहरुको प्रवन्ध असन्तुलित रहेको छ । कार्यप्रकृतिले वढी जनशक्ति आवश्यक पर्ने निकाय तथा कार्यालयहरुमा कम जनशक्ति रहेका छन् भने थोरै जनशक्तिले पुग्ने तथा नीति निर्माणमा संलग्न रहनुपर्ने संघीय सरकारका निकायहरुमा अधिक जनशक्तिको दरवन्दी रहेको छ ।
दोस्रो समायोजन ऐन अनुसार प्रदेश र स्थानीय तहहरुमा समायोजन भै गएका निजामती सेवाका कर्मचारीहरुको वृत्ति विकास, कार्य जिम्मेवारीको अवस्था तथा साविकका कर्मचारीहरुसंगको सहकार्यका सन्दर्भमा उत्पन्न मनोविज्ञानका समस्या तथा चूनौती देखा परेका छन् । साथै तीनै तहमा रहने पदहरु श्रेणीमूलक रहने वा कार्यमूलक/तहगत रहने भन्ने विषयलाई गम्भीर नीतिगत विश्लेषण गर्नु आवश्यक रहेको छ ।
तेस्रो चूनौती भनेको समावेशीकरणको नीति र आरक्षण व्यवस्थाको लाभ लक्षित वर्गमा कसरी पूर्याउने भन्ने गम्भीर अवस्था देखा परेको छ । निजामती सेवालाई समावेशी वनाउने नीतिगत र कानूनी प्रवन्ध समेत गरी विगत १२ वर्षभन्दा अगाडिदेखि अवलम्वन गरिएको आरक्षण र सकारात्मक विभेदको लाभ कमजोर वर्ग समुदायमा पुग्न सकेको देखिएन ।महिला सहित अन्य वर्ग समुदायका लागि छुट्टाइएको कोटामा तत् तत् वर्ग समुदायको उपल्लो आर्थिक र सामाजिक स्तर रहेकाले अवसरमा पहृँच पाएको देखिन्छ । दुर्भाग्य, अझै पनि ५० भन्दा वढी जाति र समुदायवाट निजामती सेवाका पदहरुमा एकजना व्यक्तिको पनि प्रतिनिधित्व नभएवाट समावेशिकरण र आरक्षण नीतिको गम्भीर समिक्षा गर्नु आजको आवश्यकता रहेको छ ।
चौथो चूनौती भनेको निजामती सेवाको कार्यक्षमताको विस्तारमा ध्यान दिइ यस सेवालाई अझवढी सक्षम बनाउनु रहेको छ ।निजामती सेवाको जिम्मेवारी भनेको सरकारको नीति अनुसार समग्र मुलुकको जनशक्ति विकास योजनाको तर्जुमा र निर्माणमा अग्रसर हुनु हो ।निजामती सेवाका तीनै तहका सरकारहरुमा कार्यरत कर्मचारीहरु तथा अन्य सरोकारवालाहरुको क्षमता विकासका लागि साविकमा स्थापीत तथा लामो अनुभव र अनुसन्धानवाट विकसित, राष्ट्रीय अन्तराष्ट्रीयरुपमा पहिचान र गुणस्तर प्राप्त भएका स्टाफ कलेज , स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान तथा विषयगत तालिम केन्द्रहरु रहेका छन् । अर्कोतर्फ शासकीय स्वरुप लगायतका क्षेत्रमा आएको परिवर्तित परिस्थिति, प्रविधिमा आएको परिवर्तन, वहुआयामिक माग र आवश्यकता, प्रशिक्षण र तालिमको स्तरीकरण आदिको विश्लेषण गरी ती संस्थाहरुका लागि एकिकृत जनशक्ति विकास नीतिको तर्जुमा तथा छुट्टाछुट्टै संस्थागत रणनीतिहरुको पुनरावलोकन गर्नुपर्ने स्थिति देखिएको छ । मौसमी तदर्थ संस्था वा परियोजनाहरुको माध्यमवाट भन्दा स्थायी प्रकृतिका यी निकायहरु स्वयमको क्षमता विकास र स्तरोन्नति गरी निजामती सेवाका जनशक्तिहरुको क्षमता विकासका कार्यक्रम र योजनाहरुलाई अविछिन्नरुपमा अगाडि वढाउनुपर्ने चूनौती रहेको छ ।
१०. स्वच्छ प्रशासनका माध्यवाट सुशासनलाई अनुभूति तहमा उकास्नुपर्ने चूनौतीः
निजामती सेवकहरुले अव सेवा प्रवाह र विकास व्यवस्थापन मात्र होईन स्वच्छ र सदाचार पद्दति, नागरिक मैत्री शैली, उन्नत चरित्र र संस्कारहरुको पनि प्रवाह गर्नु पर्दछ ।
आधारभूत सार्वजनिक सेवा प्रदान गरिने निकायहरुमा छिटो र छरितोरुपमा सेवा प्राप्त गर्नका लागि नीति र प्रणाली भन्दा नियत र प्रवृत्ती नै खराब रहेको तथा अतिरिक्त मूल्यको भूक्तानी , भनसुन र चिनजान नभै नहुने दुखद अवस्था रहेको भनि स्वयम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तज्यू तथा पूर्व मुख्य सचिवहरुले विभिन्न दृष्टान्त सहित वताइरहनु भएको कथा वेथाको पृष्ठभूमिमा यस विषयलाई हामीले संवेदनशीलरुपमा लिनुपर्ने देखिएको छ ।विकास आयोजनाहरु लगायत विविध क्षेत्रमा हुने गरेका भ्रष्ट्राचारका कसूरहरुको अध्ययनवाट निजामती सेवाले आँफूलाई नैतिकवान वनाउन थप चूनौती देखिएको छ । त्यसैले भ्रष्टाचार नियन्त्रणका लागि हामीले “टाउको”वाट भन्दा “हृदयले” प्रतिवद्दता गर्नुपरेको छ । निजामती सेवकहरुले ” भकारी भरी ” सम्पत्ति थूपार्ने सोचभन्दा “डाला भरी“ सु-संस्कार भर्ने कुरामा गौरव गर्नु आवश्यक छ ।
अतः निजामती सेवा दिवस, २०७७ को नारा “स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन“को मर्मलाई आत्मसात गर्न तथा सवै सार्वजनिक सेवाको मार्गदर्शक सेवाकोरुपमा आँफूलाई विकसित गर्न उल्लिखित चूनौतीको समिक्षाले थोरै भएपनि योगदान पुग्ने अपेक्षा गरिएको छ । केहि अंश राजधानी दैनिकवाट साभार,लेखक कृष्णप्रसाद लम्साल,नेपाल सरकारका सह सचिव हुनुहुन्छ ।









