७ भदौं
काठमाडौं । कर्मचारी समायोजन भएको डेढ वर्ष बितिसक्दा समेत कर्मचारीहरू सञ्चालन गर्ने गरी नयाँ कानुन बन्न नसक्दा समायोजन भएका कर्मचारीहरू नै मर्कामा परेका छन् । सरकारले २०७५ सालमा समायोजन ऐन २०७५ मार्फत केन्द्रीय सरकारमा रहेका एक लाख बढी कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो ।
तर, त्यसरी समायोजन भएर गएका कर्मचारीलाई सञ्चालन गर्ने नयाँ कानुन हालसम्म बन्न नसक्दा कर्मचारीहरू मर्कामा पर्दै आएका हुन् ।
यही समयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने आवश्यकताअनुसारको ऐन ल्याउन छोडेर समायोजन भएका कर्मचारीकै हेरफेर गर्न सक्ने गरी नीतिगत व्यवस्था गरेपछि विवाद बढेको छ ।
यद्यपि, समायोजन भएर गएका ६ सयभन्दा बढी कर्मचारीहरूले नै आफूहरूको समायोजन संशोधन गर्न माग गर्दै मन्त्रालयमा निवेदन दिएका छन् । सरकारले ल्याएको सो नीतिगत व्यवस्थालाई कर्मचारीहरूले भने नयाँ कानुन बन्न नसक्दाको परिणामका रूपमा अथ्र्याएका छन् । मन्त्रालयको प्रस्तावअनुसार सरकारले समायोजन हेरफेर गर्न सकिने निर्णय गरिदिएपछि अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगतमा समायोजन भई गएका कर्मचारीलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्न पाउने भएको छ ।
सैगरी सोही व्यवस्थाअनुसार एक प्रदेशबाट अर्को प्रदेशमा समेत कर्मचारीहरू सरुवा हुन पाउनेछन् भने संघमा रहेका कर्मचारीहरू प्रदेश र स्थानीय तहमा समेत जान पाउने भएका छन् । सरकारको यो निर्णयलाई प्रशासनविद्ले संघीयताको मर्मविपरीत रहेको दाबी गरेका छन् । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने कर्मचारीकै पीरमर्कालाई सम्बोधन गर्ने गरी नयाँ नीतिगत व्यवस्था गरिएको दाबी गरे । अधिकारीका अनुसार विगतमा कर्मचारी समायोजन भए पनि प्रदेश तथा स्थानीय तहको सेवा सञ्चालनसम्बन्धी कानुन समयमै आउन नसक्दा यस्तो समस्या आएको हो । प्रवक्ता अधिकारीले समायोजन ऐन २०७५ को दफा २४ मा ऐन कार्यान्वयन गर्ने सवालमा कुनै समस्या परेमा नेपाल सरकारले बाधा अड्चन फुकाउन सक्नेछ भन्ने प्रावधान रहेको र सोही प्रावधानअनुसार नै समायोजन हेरफेर गर्ने गरी नीतिगत निर्णय भएको जानकारी दिए । यो निर्णय आम कर्मचारीको हितमा रहेको अधिकारीले दाबी गरे । अधिकारीले केन्द्रीय सरकारले समायोजन भएका कर्मचारीलाई अन्यत्र पठाउँदा प्रदेश तथा स्थानीय तहको सहमति अनिवार्य रूपमा लिनुपर्ने प्रावधानसमेत रहेकाले सो नीतिगत निर्णयले संघीयताको मर्ममाथि प्रहार नगरेको स्पष्ट पारे ।
सरकारले गरेको नयाँ नीतिगत निर्णयअनुसार समायोजन संशोधन गर्दा सम्बन्धित प्रदेश वा स्थानीय तहको अनिवार्य रूपमा सहमति लिनुपर्नेछ । स्थानीय र प्रदेश सरकारले सहमति नदिएमा समायोजन हेरफेर गर्न सकिनेछैन । समायोजन संशोधन गरी जान चाहेको तहको सहमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको छ भने स्थानीय तहबाट प्रदेश वा संघ र प्रदेशबाट संघमा समायोजन संसोधन गर्न भने नपाइने व्यवस्था गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
साविक स्थानीय निकायमा रहेका र हाल स्थानीय तहमा कार्यरत र स्थानीय तहको मागबमोजिम लोकसेवाबाट सिफारिस भई बहाल रहेका कर्मचारीको भने सरुवा वा समायोजन संशोधन बारेमा कुनै निर्णय नभएको प्रवक्ता अधिकारीले स्पष्ट पारे । समायोजन भएकामध्ये संघमा रहेका कर्मचारीलाई सञ्चालन गर्न संघीय निजामती सेवा ऐन आवश्यक पर्छ भने प्रदेशमा समायोजन भएका कर्मचारीको सेवा सञ्चालन गर्न प्रदेश निजामती ऐन तथा स्थानीय तहका कर्मचारीका लागि स्थानीय सेवा ऐन आवश्यक पर्छ । सरकारले तत्कालीन समयमा कर्मचारी समायोजन गरे पनि संघीय निजामती सेवा ऐन, प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन बन्न नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या पर्दै आएको हो ।
उता कर्मचारी समायोजन ऐनअनुसार तीन तहमा समायोजन भएका कर्मचारीको व्यवस्थापनसँगै उनीहरूको सेवा, सर्त र सुविधा सम्बन्धित तहबाटै निर्धारण र सञ्चालन हुनुपर्ने स्पष्ट रूपमा उल्लेख भए पनि मन्त्रालयले त्यसविपरीत आफैंले सरुवा गर्ने गरी ल्याएको नीतिगत व्यवस्थाले संविधान र संघीयताको मर्ममाथि प्रहार गरेको विज्ञहरूको दाबी छ ।









