३१ साउन
वीरगंजमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा (गण्डक अस्पताल) मा उपचाररत वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो । ७ दिनदेखि अस्पतालमा उपचाररत उनको शुक्रबार साँझ ७ बजे मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित थिए ।
शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएको र उपचारकै क्रममा मृत्यु भएको कोरोना अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिए । डा. सिंहका अनुसार मृतक पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसका रोगी थिए ।
चिकित्सकका अनुसार उनमा कोभिड निमोनिया थिएन भने शरीरमा अक्सिजनको मात्रा पनि ठिक थियो । साउनयता मात्रै पर्सामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।









