३० साउन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विवाद समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार बिहान सवा ११ बजेदेखि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपश्चात कार्यदल गठन गरिएको हो।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् ।ओली, प्रचण्ड र माधव नेपाल समूहका दुईदुई जना रहेको कार्यदललाई कुनै समय सीमा तोकिएको छैन । तर कार्यदलले चाँडोभन्दा चाँडो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव पौडेलले बताए ।

शुक्रबार बिहान महासचिव विष्णु पौडेल र जनार्दन शर्मासँग आफ्नै निवासमा भेट गरे लगत्तै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। बिहीबार पनि अध्यक्षद्वयबीच करिब चार घण्टा लामो छलफल भएको थियो।  नेकपामा पार्टी विधानविपरित सरकार र पार्टी सञ्चालन भएको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको चर्को विरोध हुँदै आएको थियो । त्यसक्रममा ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने भन्दै प्रचण्ड र नेपाल पक्षले चर्को दबाब दिँदै आएका थिए ।

कार्यदलले पार्टीभित्र उठेका विभिन्न विषयको एकीकृत सुझावसहितको प्रतिवेदन बुझाउने छ । जसमा विचारदेखि  महाधिवेशन लगायतका विषय समेटिने छन् ।