२७ साउन
काठमाडौं – आज भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ । आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित गरिएको छ ।

भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ ।‘‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः धर्तीमा आउने छु र धर्मको उत्थान गर्नेछु,’’ भन्ने उद्घोषलाई मनन गर्दै कृष्णाष्टमी मनाउने गरिन्छ ।

भक्तजनहरुले भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई आजसम्म संस्मरण गर्दै आएका उनको पूजा– आराधना गर्दै आएकाछन् ।

आश्विन शुक्ल अष्टमीको कालरात्रि, कात्तिक कृष्ण औँसीको सुखरात्रि, फागुन कृष्ण तृतीयाको महाशिवरात्रि र यो भाद्र कृष्ण अष्टमीको मोहरात्रि गरी यी चार रातको निकै महत्त्व रहेको शास्त्रमा वर्णित छ ।