२६ साउन
कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गत साउन १६ गते बेलौरी नगरपालिका ७ भगतपुरका ७० वर्षीय घनश्याम खाती र उनकी श्रीमति ६८ वर्षीया बेलुदेवीको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बेलौरी नगरपालिका ७ भगतपुरका ५३ वर्षीय ऐर, सोही ठाँउका ३५ वर्षीय दिनेश राना, ६ का होरी राना र कृष्णपुर नगरपालिका २ बस्ने भर्ना भनिने रवि राना रहेका छन् । उनीहरुलाई बोक्सीको आरोपमा छिमेकी प्रकाश ऐरले पैसा दिएर हत्या गर्न लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सोमबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर बहादुर थापाले छिमेकी प्रकाश ऐरले लामो समयदेखि मृतक परिवारसँग बोक्सीको आरोपमा विवाद गर्दै आएको र सोही विषयलाई लिएर रवि रानालाई ४ लाख रुपैया दिएर हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
खाती दम्पतीको धारिलो हतियार प्रहार गरि हत्या भएको थियो । घनश्यामको उपचारका क्रममा मृत्यु भएको थियो भने बेलुदेवीको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।









