२५ साउन
पर्वत । पर्वत अस्पवतालमा मृगौलाको निशुल्क डायलासिस सेवा शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा शुरु भएको सेवाको आइबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले शुभारम्भ गर्नुभयो ।
सेवा शुरु भए संगै मृगौलाका बिरामीले डायलासिस गराउन पोखरा जानुपर्ने बाध्यता अन्त्य भएको छ । पर्वत अस्पतालमा दैनिक ९ जनाले तत्काल डायलासिस सेवा लिन सक्ने गरि सेवा शुरु गरिएको छ ।

डायलसिस सेवा सुरु गर्न ४ वटा मेसिन जडान गरिएको छ । एक महिना सम्म पहिलो सिफ्टमा ९ जनालाई सेवा दिन सक्ने र जनशक्ति थप भएमा १८ जनालाई सेवा दिन सकिने पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

डायलसिस सेन्टरमा २ जना मेडिकल अफिसर, ६ स्टाफ नर्स, र १ जना प्राविधिक छन् । पर्वतमा अस्पतालमा डायलसिस मेसिन जडान गर्न गण्डकी सरकारले १ करोड ३० लाख रुपैयाँ उपलब्ध गराएको थियो भने प्रतिनिधीसभाका सदस्य पदम गिरीले स्थानिय पुर्वाधार बिकास कार्यक्रम मार्फत जेनेरेटर खरिद गर्नका लागि १५ लाख उपलब्ध गराउनुभएको थियो ।

मुख्यमन्त्री गुरुङ्गले हेमो डायलासिस सेवाको उद्घाटन गर्दै प्रदेश सरकारले स्वास्थ्य सेवालाई आधारभूत तहको जनताको पहुँचमा पु¥याउने गरि काम गरिरहेको छ भन्नुभयो । उहाँले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाको सेवालाई प्रभाबकारी बनाउन जनशक्ति ब्यबस्थपन र भौतिक पुर्वाधार बिकासका लागि काम गरिरहेको छ भन्नुभयो ।

गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल, संक्रामक रोग अस्पताल र ट्रमा अस्पताल बनाउने गरि अघि बढेको जानकारी पनि गराउनुभयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले पर्वत जिल्लामा स्वास्थ्य सेवा आधारभूत जनताको पहुँचमा पु¥याउन गण्डकी प्रदेश सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले आफुँले पनि डायलासिस सेवा सुरु गर्न स्थानिय पुर्वाधार साझेदारी कार्यक्रम मार्फत सहयोग गरेको बताउनुभयो ।

गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेस सरकारले जनता सरकारी अस्पतालमा आउँदा निराश भएर फर्कन नपर्ने गरि सेवा र पुर्वाधार बिकासको काम गरिरहेको छ भन्नुभयो । आम नागरिकले सेवा लिने भएकाले सरकारी अस्पतालमा उत्कृष्ट सेवा र स्वास्थ्यकर्मीको बोलीबचन समेत मिठास हुनुपर्छ। उहाँले भन्नुभयो ।

पर्वत अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटा र सञ्चालन स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले गर्नुभएको थियो ।