२७ जेठ

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।

गएराति सुर्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । हत्या हुनेहरुमा चार पुरुष र एक महिला छन् । उनीहरु सबै स्थानीय हुन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर हुन् ।

घटनाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रहरी चौकीबाट टोली अपराधस्थलमा पुगेको थियो । त्यसपछि सुर्खेतका झपेन्द्र सिजापतीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी थापाका अनुसार जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । यद्यपि, उनले पक्राउ परेका व्यक्तिको परिचय खुलाएनन् ।
स्रोतका अनुसार सिजापती लागू औषध दुर्व्यसनी हुन् । थप अनुसन्धान भइरहेको थापाले बताए ।