२६ जेठ

काठमाडौं । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका १० जना आइतबार डिस्चार्ज भए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका बाँकेका पाँच, दाङका दुई, कपिलवस्तुका दुई र बर्दियाका एकजना गरी १० जना घर गएका हुन् ।

१४ दिन आइसोलेसनमा बसेका उनीहरुमध्ये ५ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर बाँकी ५ पाँच जनाको परीक्षण नै गरिएको थिएन लक्षण नभएका कारण डिस्चार्ज गरिएको हो । अर्थात उनीहरु घर जाँदा संक्रमित नै छन् कि निको भइसके भन्ने जाँच नै गरिएन ।

यसअघि शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जनालाई पनि पीसीआर विधिबाट परीक्षण नै नगरी डिस्चार्ज गरिएको थियो ।

किन पीसीआर टेष्ट समेत नगरी घर पठाइयो त ? बेलझुण्डी र धनगढीका दुबै अस्पतालका अधिकारीहरु भन्छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन नै यही छ ।’

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र’ का प्रमुख डा. गुणराज लोहनीले २१ जेठमा सबै कोभिड अस्पताललाई पत्र लेखेर कोरोना परीक्षणको नयाँ गाइडलाइनअनुसार पोजेटिभ केसहरुलाई लक्षणमुक्त भएको तीन दिन वा १४ दिन आइसोलेसनमा राखेपछि टेष्ट नगरी डिस्चार्ज गर्न भनिएको छ ।

मन्त्रालयले नै निर्देशन दिएपछि अस्पतालहरुले बिना परीक्षण डिस्चार्ज गर्न थालेका हुन् ।

जनस्वास्थ्य विज्ञहरु भने यसरी लक्षण नदेखिएको आधारमा आइसोलेसनमा बसेको संक्रमितलाई बिना परीक्षण घर पठाउनु गलत भएको बताउँछन् ।

जनस्वास्थ्य विद डा. शरद वन्तले एकपटक पीसीआर पोजेटिभ आएको व्यक्तिलाई पीसीआर नेगेटिभ नआई घर पठाउने निर्णय गलत रहेको बताए । किनकी यसरी घर पठाएको मानिसले अरुलाई संक्रमण सार्ने सम्भावना उच्च हुने उनको भनाइ छ ।

‘लक्षण नहुँदैमा मानिसमा संक्रमण छैन र सार्दैन भन्नु गलत हो’ डा. वन्त भन्छन्, ‘नेपालको परिप्रेक्षमा आइसोलेसनमा कति दिन बस्यो भन्नेभन्दा कतिवटा टेस्ट नेगेटिभ आयो भन्ने महत्वपूर्ण हुन्छ ।’

लक्षणविहीन भएकै आधारमा बिरामीलाई डिस्चार्ज दिँदा धेरै संक्रमित घरमा पुग्ने उनको दाबी छ ।

जिवाणु वैज्ञानिक डा. सुदीप खड्काका अनुसार मानिसमा संक्रमण सुरु भएको ५ दिनपछि मात्र लक्षण देखिन थाल्छ । त्यसैगरि धेरैजसो संक्रमितमा सुरुदेखि अन्तिमसम्म लक्षण देखिँदैन, तर उनीहरुले अरुलाई कोरोना संक्रमण सार्न सक्छन् । एक अध्ययनका अनुसार केही संक्रमितमा लक्षण नदेखिएको चार हप्तापछि पनि पीसीआर पोजेटिभ देखिएको थियो भने पोजेटिभ आएको ६ दिन पछिसम्म पनि संक्रमितमा कोभिड–१९ को लक्षण देखिएको छ ।