१२ जेठ

भरतपुर–१ देवघाटमा हिजो साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा छन्।

उनको उपचारका क्रममा हिजो साँझ ७ः१७ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते हुनेहरुमा भरतपुर १२ का ३४ बर्षीय सुरेश बिक, सोही स्थानका ३६ बर्षीय दीपक कुमाल, ३१ बर्षीय प्रदीप शर्मा र ट्र्याकटर चालक २६ बर्षीय शम्भु खड्का रहेका छन् ।

भारी बर्षा भएपछि सडक छेउमा रोकिराखेको ना ३ त ३४२३ नम्बरको ट्र्याक्टर मुनी ओत लागि बसिरहेको अवस्थामा सालको रुख ढलेर लाग्दा ५ जना घाइते भएका थिए ।

घाइते चारजनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरु खतरामुक्त रहेका छन् ।