२३ चैत्र
न्युयोर्क निवासी अजयमान छोंचुँको आज उपचारका क्रममा निधन भएको छ । छोंचुँको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ । केहीदिनदेखि बिरामी अवस्थामा रहेका उनको अवस्था गम्भिर भएको थियो । आज उपचारकै क्रममा निधन भएको नेवा नख न्युयोर्कका अध्यक्ष बिष्णुमान प्रधानले जानकारी दिए ।
नेवा नख न्युयोर्कले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधन हृदयघातबाट भएको जनाएको छ । छोंचुँको निधनप्रति दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदनमा व्यक्त गरिएको छ ।
केहीदिन अगाडि अर्जेन्ट केयरमा गएर चेकजाँच गर्दा ब्याक्टेरियल निमोनिया देखिएकोमा अर्जेन्ट केयरले अस्पतालमा जान सुझाव दिएको थियो । त्यसपछि छोंचुँलाई एल्महस्र्ट अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले एकदुईदिनमा नै डिस्चार्ज गर्ने बताएको थियो । तर अचानक हृदयघात भएका कारण आज दिउसो ४ बजेतिर अस्पतालमा नै निधन भएको जनाइएको छ ।
झण्डै दुईसाता अगाडि परीक्षण गर्दा छोंचुँ र उनकी श्रीमतिमा कोरोना नेगेटिभ देखिएको थियो ।
अस्पतालले फयुनेरल होम बुक गरेर जानकारी दिन भनेको छ । फ्युनरल होम बुक गरिसकेपछि फ्युनेलर होमले नै अस्पतालबाट शव लगेर दाहसंस्कार गर्ने भएकाले दाहसंस्कारमा परिवारका सदस्यहरु उपस्थीत हुने नहुनेमा अन्यौल उत्पन्न भएको छ ।
छोँचुँ न्युयोर्कको क्वीन्स ग्रयाण्ड एभिन्युमा श्रीमतिसँगै बस्दै आएका थिए । उनका छोराबुहारी पनि न्युयोर्कमा नै बस्दै आएका छन् ।









