९ चैत्र
कोरोना भाइरस संक्रमणबाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ । बेलायतमा बस्दै आएका ६६ वर्षीय पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो ।
संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै राईको मंगलबार मृत्यु भएको हो ।
उनको मंगलबार (४ चैतमा) लण्डनको नर्थविक पार्क हस्पिटलमा मृत्यु भएपनि शनिबार मात्र उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो । लिलाबहादुर ब्रिटिस(गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए ।
मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए । त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पुर्याएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए । राईको परिवार आइसोलेसनमा रहेको छ ।









