५ चैत्र
काठमाडौं । विश्वभर कोरोना संक्रमण फैलिँदै गएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त राष्ट्र संघअन्तर्गतको सुडान मिसन तत्कालका लागि स्थगित भएको छ । संयुक्त राष्ट्र संघअन्तर्गतको मिसनमा साउथ सुडान जान लागेका १७ जना प्रहरी र नेपाली सेनाका ७ सय सैनिककोे मिसन यात्रा कोरोना संक्रमणका कारण तत्कालका लागि रोकिएको हो ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले साउथ सुडान जान तयारी अवस्थामा रहेका १७ जना प्रहरीको मिसन यात्रा तत्कालका लागि स्थगित भएको बताए । उनका अनुसार संयुक्त राष्ट्रसंघको हेडक्वाटरबाट तत्कालका लागि नपठाउनु भन्ने पत्र आएपछि मिसन यात्रा रोक्का भएको हो । ‘कोरोनाको कारण तत्कालका लागि मिसन नपठाउनु भन्ने पत्र यूएन हेडक्वाटरबाट आयो, त्यसपछि तत्कालका लागि साउथ सुडान जाने तयारीमा रहेकाहरू रोकिएका छन् ।
नेपाल प्रहरीले सयुक्त राष्ट्र संघको मिसनमा सुडान, कंगो, डार्फरलगायतका मुलुकमा आफ्ना जवान तथा अधिकृत पठाउँदै आएको छ । यस्तै, तालिमका लागि इटाली, भियतनाम, इन्डोनेसियालगायतका मुलुकमा प्रहरी जाँदै आएका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सुडान जान लागेका ७ सय सैनिकको यात्रा तत्कालका लागि रोकिएको छ । राष्ट्रसंघ मुख्यालयले पत्र नै पठाएर तत्कालका लागि सुडानमा खटिने शान्ति मिसन स्थगित गर्न भनेको निर्देशनालयले जनाएको छ । तर, पत्रमा किन स्थगित भन्ने बारे कारण खुलाइएको छैन । निर्देशनालयका प्रमुखसमेत रहेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले राष्ट्रसंघ मुख्यालयले पत्र नै पठाएर तत्कालका लागि मिसनमा पठाइनेहरूलाई रोक्न आग्रह गरेको जानकारी दिए ।









