फाईल फोटो
४ चैत्र
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा एक बालिकालाई चितुवाले आक्रमण गरेको छ । सोमबार साँझ शुक्लागण्डकी–३ वनकेवा निवासी नारायण न्यौपानेको २१ महिने छोरी सँस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरेको हो ।
बालिकाको पेट, खुट्टासहित विभिन्न अंगमा चोट लागेको छ । बालिकाको अवस्था खतरामुक्त रहको बताइएको छ । साँझ आमाले बाथरुममा कपडा धुने क्रममा सँगै रहेकी छोरीलाई चितुवाले आक्रमण गरेको थियो ।
आक्रमण लगत्तै आमाले छोरीलाई तानेर बचाउन सफल भएको शुक्लागण्डकी-३ का वडाअध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । घाइते बालिकाको दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा सामान्य उपचारपछि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक जगदिश रेग्मीले जानकारी दिए ।
गत पुस १३ गते पनि सोहि वडाको वनकेवा रातमाटाका राजु नेपालीको २२ महिने छोरा रविन नेपालीलाई घरकै पिढीँबाट चितुवाले आक्रमण गरी लगेको थियो । भोलिपल्ट घरभन्दा एक किलोमिटर पर ढाङढुङे ठूलोपाखा श्यामपोखरी सामुदायिक वनमा बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो ।









