२८ फागुन
डडेल्धुरा । होलीको रङ पखाल्न बाथरुम छिरेका पदम भण्डारीको मृत्यु भएको छ । सोमबार अपरान्ह डडेल्धुरा बजारस्थित घरमा नुहाउन बाथरूम छिरेका भण्डारी लामो समयसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाथरूम खोलेर हेर्दा उनलाई वेहोस अवस्थामा फेला पारेका थिए । पदमलाई परिवारले नजिकैको डडेल्धुरा अस्पतालमा उपचारका लागि पुर्याए पनि चिकित्सकहरूले पदमको मृत्यु भइसकेको घोषणा गरिदिएका थिए ।
परिवारका अनुसार २७ वर्षीय भण्डारी सानैदेखि सामाजिक काममा सक्रिय थिए । उनी डडेल्धुरा बहुमुखी क्याम्पसका छात्र हुन् । समाजसेवासँगै भण्डारी राजनीतिमा पनि सक्रिय रहेका थिए । नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ डडेल्धुराको कार्यवाहक सभापति थिए ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले नुहाउन बाथरूम छिरेका पदमको मृत्युको कारण खुल्न नसकेको बताए । ग्यास गिजर चलाएर नुहाउन बाथरूम छिरेका पदम लामो समयसम्म बाहिर ननिस्केपछि परिवारले उद्धार गरी अस्पताल पुर्याएको उनको भनाइ छ ।
पोस्टमार्टम रिपोर्ट आएपछि के कारणले मृत्यु भएको हो भन्ने खुल्ने उनले बताए । झ्याल नभएको बाथरूम वा झ्याल बन्द गरेर गिजर चलाउँदा अक्सिजनको मात्रा कम भएपछि निस्सासिएर मृत्यु हुने गरेको छ ।









