२८ फागुन
बिहेको लागि मण्डप बनिसकेको थियो । एक दिन अघि देखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतीक्षा गर्दै थिए बेहुला अब आउँछ यस्तो समयमा धनुषामा एउटा बिहे रोकेको छ । बिहे रोक्नुका कारण केटा पक्षले मागेको दाइजो नदिनु नै रहेको छ ।
धनुषाको नगराइन नगरपालिकाको जटहीका बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको बिहे धनुषाकै भुतही निवासी रोहित सदाको २१ वर्षीय छोरा सुशील सदासँग फागुन २५ गते हुने तय भएको थियो । तर, आर्थिक अभावका कारण बेचनीले मोटरसाइकल दिन नसकेपछि सुशील सदा विवाह गर्न नै आएनन् । ऋण काढेर सबै तयारी गरे पनि विवाह नै नभएपछि बेहुलीपक्ष मारमा परेका छन् ।
साहुसँग चर्को व्याजमा ३ लाख रुपैयाँ ऋण काढेर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि बेचनी थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न समियानाहरु पनि लगाइएको थियो । हामी भन्दै थियो पैसाको व्यवस्था भएन बिहेपछि मोटरसाइकल दिन्छु तर केटा पक्षले मानेनन् बेचनीले बताए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले घटना के रहेछ आफूले बुझिरहेको बताउँदै दोषीलाई समातेर कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने–‘बेहुली पक्षले यदि जिल्ला प्रशासन कार्यालयमा जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामीले बेहुला पक्षमाथि कारबाही गर्छौँ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।









