२७ फागुन
सुतिरहेका श्रीमानलाई तेजाब प्रहार गरेको आशंकामा काठमाडौंको तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीबाट एक महिलालाई पक्राउ गरिएको छ । श्रीमान भन्दा ३ वर्ष जेठी प्रतिमालाई २४ वर्षीय रामराजा थापालाई तेजाब प्रहार गरेको आशंकामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, बालाजुका डीएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।
मुख र हातमा तेजाब लागेर घाइते बनेका रामराजाको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गए राति कोठाको झ्याल ढोका लगाएर सुतेका उनको अनुहार र हातमा तेजाब प्रहार भएकोले घरभित्रैबाट आक्रमण भएको आशंका गरिएको डीएसपी राठौरले बताए ।
“झ्याल ढोका बन्द भएका बेला बाहिरबाट हानेको भए अन्यत्र पनि तेजाब लाग्नु पर्थ्यो”, राठौरले भने । घरमा उनकी श्रीमती प्रतिमा र ३ महिनाका बच्चा मात्र थिए । कोठामा बियरको बोतलमा तेजाब राखिएको पाइएको प्रहरीले जनाएको छ । थापाले पनि प्रतिमाले तेजाब हानेको बताएका छन् । उक्त घरका घरबेटीले पनि आएको धेरै दिन नभए पनि श्रीमान–श्रीमती सधैजसो झैझगडा गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन्।
प्रतिमा एक होटलमा काम गर्दै आएकी छन् । रामराजा भने सवारी चालक हुन् । प्रतिमाको यो दोस्रो विवाद भएको बताइएको छ ।









