१४ फागुन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर विश्वकर्माले कुनै अमुक व्यक्तिको लागि अमुक उद्देश्यले संविधान संशोधन गर्न खोज्नु हाँस्यास्पद र लज्जास्पद भएको टिप्पणी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट संविधानमाथि आक्रमण प्रयासको दृश्य देखिएको सुनाए । उनले भने,‘हुन त यो सरकार बन्दै गर्दापनि वर्तमान प्रधानमन्त्री संवैधानिक बाटोबाट आउन चाहनुभएन, अलि अलि संविधान मिच्ने काम त्यतिबेला भएकै हो । यो कुरा मैले त्यतिवेला यही रिपोर्टर्स क्लबमा पनि भनेको थिएँ, केपी शर्मा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री बन्नुभयो । तर, उहाँले प्रतिनिधिसभाको सदस्यको प्रमाणपत्र फागुन २० गतेमात्रै प्राप्त गर्नुभयो, अनि संसदीय दलको नेता चाहीँ फागुन २५ गते बन्नुभयो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कुनै अमुक व्यक्तिको लागि संविधान संशोधनको कुरा गर्नु नै हाँस्यास्पद भएको कडा टिप्पणी गर्दै यदि त्यो प्रयत्न भए आफ्नो पार्टीले डटेर सामना गर्ने स्पष्ट पारे । उनले भने,‘लोकतन्त्र भनेको विधि, विधान र विवेकले चल्ने हो । संविधान संशोधनको पर्दाभित्र खिचडी पाकिरहेको छ ।’ उनले आफ्नो पार्टी संविधान संशोधनको विरोधी नभएको स्पष्ट पारे । उनले भने,‘कांग्रेस राजपालगायतका जायज माग पूरा गराउनको लागि सकारात्मक छ । संविधानसभा रहँदै हाम्रो पार्टीले संविधान संशोधनको प्रस्ताव दर्ता गराएका थियौं, तर, अहिलेका प्रधानमन्त्रीको नेतृत्व रहेको तत्कालिन् नेकपा एमालेले समर्थन गरेन । त्यतिवेला संविधान संशोधन हुन सकेन् ।’
अमुक व्यक्तिलाई अमुक पदमा पुर्याउन र नेकपाले आन्तरिक रुपमा व्यक्ति व्यवस्थापनको लागि संविधान संशोधनको कुरा गर्नु गलत भएको उनको टिप्पणी छ । उनले भने,‘यस्तो प्रयत्न गर्नु स्वयम त्यो दलको लागि पनि अहित छ । यो त अन्तर्राष्ट्रिय जगतमा पनि उपहासको विषय हो ।’
कांग्रेस नेपाली जनताको हित र देशको हितमा हुने संविधान संशोधनको लागि साझा मागलाई सम्बोधन गर्न तयार हुने उनको भनाई छ । उनले भने,‘कुनै अमुक व्यक्तिलाइ अमुक पदमा पुर्याउनको लागि हुने संविधान संशोधन प्रस्ताव नै हामी दर्ता हुन दिँदैनौं, यदि भैहाल्यो भने हामी डटेर सामना गर्न तयार छौं । हामी नेकपाले तयार पार्ने यस्तोखालको संविधान संशोधनको खिचडीको विरुद्धमा छौं ।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले दुई तिहाई बहुमतले संविधान संशोधनमार्फत मुलुकमा कम्युनिष्ट व्यवस्था वा राजतन्त्रपनि ल्याउन सकिने सुनाउँदै राष्ट्रियसभाका सदस्यलाई प्रधानमन्त्री बनाउन किन नसकिने ? भन्दै प्रश्न राखे ।
विडारीले विश्वका कयौं देशमा माथिल्लो सदन र तल्लो सदन दुवै सदनका सदस्यपनि प्रधानमन्त्री हुने व्यवस्था रहेको सुनाए । उनले भने,‘अहिले भएको बहस हेर्दा मलाई अचम्म लाग्छ, ज्यान जाला हुँदै हुँदैन भन्नुपनि गलत हो, र यो गर्नैपर्छ भन्नुपनि बेठीक हो ।’ उनले अहिले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्थाको लागि संविधान संशोधन गर्नेबारे वादविवाद तथा छलफलको विषय भएको सुनाए ।
उनले आवश्यकत्ताको औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने तर्क गरे । उनले भने,‘संविधान संशोधन नै हुँदैन भन्नुपनि गलत हो । यो त परिवर्तनीय दस्तावेज हो । राष्ट्रिय स्वाधिनता र स्वाभिमानलगायतका केही संवेदनशील विषयमा संविधान संशोधन हुँदैन् । नत्र दुई तिहाई बहुमतले संविधान संशोधन गरेर कम्युनिष्ट व्यवस्थामा पनि जान सकिन्छ । राजतन्त्रपनि ल्याउन सकिन्छ । हाम्रो संविधानले यति फराकिलो व्यवस्था गरेको छ ।’
उनले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्नको लागि नेकपाले कार्यदल गठन गरेको भनेर पत्रपत्रिकाले लेखेकै भरमा हल्ला गर्नु पनि गलत भएको टिप्पणी गरे । उनले भने,‘संविधान संशोधन गर्न आवश्यक छ कि छैन ? भन्ने कुरा निर्वाचन व्यवस्था कति महँगो भयो ? भन्ने कुराले पनि देखाउँछ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय पद्धतीमा जानुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने कुरापनि अहिले विद्धानहरुले गर्न थालेका छन् ।’ उनले आफूले त तीन वर्षअघि नै संसदमा यही निर्वाचन प्रणालीले त संसदमा ठेकेदार, दलाली र तस्करहरुमात्रै भरिने भए भनेर बोलेको पनि स्मरण गराए ।
उनले उपयुक्तताको आधारमा संविधान संशोधन गर्न सकिने बताए । उनले भने,‘अहिले नेकपाले गठन गरेको कार्यदलले संविधानको कुन कुन धारा संशोधन गर्दा राम्रो हुन्छ भनेर अध्ययन गर्छ । कार्यदल गठन भएकै हो नि । यसको संयोजक माधव नेपालजी हुनुहुन्छ ।’
राष्ट्रिय जनता पार्टीका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले मधेशी, जनजाति, थारु, आदिवासी तथा पिछडिएका क्षेत्रका समूदायको माग पूरा गर्ने सवालमा संविधान संशोधन आवश्यक रहेको सुनाए । तर, व्यक्तिको हितको लागि संविधान संशोधन गर्ने कुरा आफूहरुलाई मान्य नहुने तर्क गरे ।
उनले भने,‘वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनको लागि संविधान संशोधन गर्ने उद्देश्यले नेकपाले कार्यदल बनाएको कुरा आएको छ । व्यक्ति ठूलो कि जनता ? मलाई आश्चर्य लागेको छ । त्यसरी व्यक्तिको लागि संविधान संशोधन गर्ने कुरा गलत हो । जुन व्यक्तिलाई जनताले चुनावमा पराजित गरे, जसलाई हराए फेरि त्यही व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोज्नु चोर बाटो अपनाउनु हो ।’ चोर बाटोबाट ल्याएर वामदेवलाई प्रधानमन्त्री बनाउन खोज्नु नै गलत भएको उनको टिप्पणी छ ।
उनले प्रधानमन्त्री भनेको त कार्यकारी प्रमुख भएकोले राष्ट्रपतिबाट मनोनित व्यक्ति जनताको प्रधानमन्त्री हुनै नसक्ने तर्क गरे । उनले भने,‘हारेका व्यक्तिलाई मन्त्री पनि बनाउन नहुने कुरा संविधानले कल्पना गरेको छ । मनोनित पदमा आएर प्रधानमन्त्री बन्ने कुरा चोरबाटो हो । यो त झ्यालबाट छिर्न खोज्नु हो ।’ कर्णले राष्ट्रियसभाका सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था संसदीय व्यवस्थामा नै नभएको सुनाए । उनले भने,‘राजपाको यसको विपक्षमा छ ।’
राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रीय कार्यकाल करिब–करिब समाप्त भएको गम्भिर टिप्पणी गरे । उनले भने,‘नेकपा बन्नुभन्दा पनि ओली र प्रचण्डबीच भएको ७ बुँदे सहमतिको ५ नम्बर बुँदामा नै आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । त्यसो भएका हुनाले ओलीजीले प्रधानमन्त्री चलाएको करिब करिब अढाई वर्ष पुग्न लाग्यो, अर्को कुरा उहाँको कार्यशैली र स्वास्थ्यको कुराले पनि उहाँको कार्यकाल अब समाप्त भयो भन्ने मेरो बुझाई हो ।’
केसीले प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले गरेका पछिल्लो कामले पनि प्रधानमन्त्रीको शोभा नदिएको आरोप लगाए । उनले भने,‘उहाँले निर्जन पहाडमा गएर डेढ करोडको जन्मोत्सव मनाउनुभयो । सायद उहाँले अन्तिम भोजको आयोजना गर्नुभएको होला । अब उहाँले विश्राम लिँदा नै राम्रो हुन्छ । त्यसो गर्दा उहाँको लागि मात्रै होईन, सबैको लागि राम्रो हुन्छ ।’ उनले सँगै रहेका नेकपाका सांसद विडारीलाई देखाउँदै भने,‘विडारीजीलाई पनि राम्रै हुन्छ, अबको कानूनमन्त्री नै उहाँ हो । अरुका छोरा, बुहारी पनि मन्त्री बन्न पाउँछन् । उनीहरुले पनि मौका पाउँछन् (हाँस्दै)…।’
उनले केपी शर्मा ओलीपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल नै अबको प्रधानमन्त्री हुने ठोकुवा गरे । उनले भने,‘सायद अहिलेको समय भनेको उपयुक्त समय हो, प्रधानमन्त्रीले विश्राम लिने । उहाँको आठराईको भोज पनि विदाई भोज हो भन्ने मलाई लागेको छ ।’
उनले राष्ट्रिय सभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउनेगरि संविधान संशोधन गर्नको लागि नेकपाले कार्यदल गठन गरेको विषयमा टिप्पणी गर्दै त्यसमा आफ्नो आपत्ति जनाए । उनले भने,‘हुन त यहाँ अघि विडारीजीले दुई तिहाई बहुमतले हामी जे पनि गर्न सक्छौं, कम्युनिष्ट व्यवस्था पनि ल्याउन सक्छौं र राजसंस्थापनि ल्याउन सकिन्छ भन्नुभयो, त्यो उहाँहरुले गर्न सक्नुहुन्न । जुन जगमा यो संविधान बनेको छ, त्यसले न्यायिक सर्वोच्चता, विधिको शासन, आवधिक निर्वाचनको कुरा गरेको छ। उहाँहरुले भनेजस्तो गर्न सक्नुहुन्न । त्यो गर्न उहाँहरुसँग म्याण्डेट छैन् ।’ यदि त्यसो गर्ने हो भने जनतासामू ती एजेण्डा लैजानुपर्नेमा उनको जोड छ । केसीले राष्ट्रियसभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउने भनेर संविधान संशोधनको लागि नेकपाले गठन गरेको कार्यदल तुहिएको सुनाए । उनले भने,‘कार्यदलमा हुनुहुन्छ भनेर नाम आएको दुई जना सदस्य सुवास नेम्वाङ र खिमलाल देवकोटाले त हामी कार्यदलमा बस्दैनौं भनेर भनिसकेपछि, यो कार्यदलको औचित्य सकियो ।’
उनले यसअघिपनि वामदेव गौतमले संसद बन्नको लागि प्रयत्न गरेको सुनाउँदै वामदेव किन नजन्मँदै मर्नुहुन्छ ? भन्दै आश्चर्य प्रकट गरे । उनले थपे,‘उहाँ किन पटक–पटक मर्न तयार हुनुहुन्छ ? म आश्चर्यमा परेको छु ।’ उनले आवश्यक कुराको लागि संविधान संशोधन गर्न सकिने भएपनि कुनै अमुक व्यक्तिको लागि संविधान चलाउने कुरा असंभव भएको तर्क गरे ।
उनले भने,‘यो विषय तल भएकै छैन् । वामदेवको यत्रा तिघ्रा भएको व्यक्ति किन राष्ट्रियसभामा जानुपर्यो ? हचुवाको भरमा एउटा तिघ्रेलाई प्रधानमन्त्री बनाउने कुरा मान्न सकिँदैन् । यो संविधान संशोधनको लागि गठन भएको कार्यदल भनेको कागजी घोडा मात्रै हो । कार्यदल गठनबारे माईन्युट भएकै छैन् भनेर नेकपा सचिवालयका सदस्य तथा महासचिव विष्णु पौडेलले नै भनिसके ।









